‘पेनाङ जेलमा पूर्वधनको आँशु…’

news-details

बेलुकाको ४ बज्नै लागेको थियो । ४ बजेपछि बाहिरका मानिसले जेलमा (क्याम्पमा) रहेका थुनुवालाई भेट्न पाइदैन थियो । पेनाङ एयरपोर्टबाट बाहिर निस्कन नै धेरै समय लागेपछि हामीलाई हतार–हतार भएको हो ।

डिटेन्शन क्याम्प (घरफिर्ती केन्द्र)मा रहेका नेपालीलाई भेट्नैका लागि हामी पेनाङ पुगेका थियौं । झण्डै एक घण्टा हामीलाई एयरपोर्टमा कुरेका केशु थापाले हतारिदै भने–‘आज ढिला भयो प्रहरी क्याम्पमा रहेका नेपाली अब भेट्न सकिदैन ।’ हामी त खत्र्याक खुत्रुक भयौ । बाटोेमा जाम भएन भने ४ बजेभित्र पुग्न सकिन्छकी जान चै जाऔं भन्दै केशुले आशा जगाए ।
जेलजीवन बिताएका र जेलमा परेका नेपालीका समाचार बनाएका हामीलाई जेलमा नै पुगेर नेपाली भेट्ने इच्छा ठूलो थियो ।

बेलाबेलामा प्रहरी क्याम्पमा पुगेर नेपालीहरुलाई उद्धार गर्ने पवित्र मन भएका केशुको प्रहरीमा राम्रै चिनजान भएकाले हामीलाई भेटघाट गराउने चाँजो मिलाए । मलेसियामा प्रहरीलाई मनाउन सजिलो रहेछ, बाटोमा ८ प्याकेट केएफसी बोकेर केशुजीले माहोल मिलाइ हाले । पेनाङको जुरु क्याम्पमा रहेका ११ नेपालीलाई हामीले भेट्यौ । सबैलाई एउटै पोशाक लगाएर राखिदो रहेछ ।

सबै प्रकृया पुरा गरेर हामी नेपाली राखिएको ठाउँमा भेट्न पुग्यौ । सबै एउटै पोशाकमा भएर याद भएन तर त्यहीमध्ये एक जनालाई चै बोकेर ल्याइयो । उनको खुट्टा चल्दैन थियो, न्याउरो अनुहार थियो । बुढो ज्यान झै देखिन्थ्यो । हामीलाई भेट्ने समय ५ मिनेट मात्र दिइएको थियो । ब्याग, मोवाइल, पर्स, घडी, कपी–कलम सबै बाहिर राखेर मात्र जान पाइने भएकाले हामी रित्तो थियौ ।

हामीलाई देख्ने वित्तिकै ती बोकेर ल्याइएका नेपालीको आँखाबाट तररर आँशु बग्यो । ठूलो स्वरमा बोल्न मिल्दैन थियो । मेरो ध्यान उनैप्रति गयो । म उनको छेउमा पुगे, उनको आँशु रोकिएन, झन बग्न पो थाल्यो । म आफैलाई सम्हालिन गाह्रो प¥यो । मेरो दुवै हातले उनका आँशु पुसिदिँए । मैले अब नरुनुस् तपाई भनिरहँदा म आफै रोइरहेको थिए । मेरो नै आँशु बग्यो । केही बेर बोल्न नै सकिएन । उनी रोइरहेँ ।

उनको अवस्था र आँशुले उनलाई कति पीडा रहेछ भन्ने मैले बुझिहाले । उनलाई मैले बिस्तारै सोध्न थालेँ । उनी राम्चे–२ कास्कीका ५२ बर्षे पूर्वधन गुरुङ रहेछन् । ५ महिना जेल सजाय भोगेर उनी डिटेन्शन क्याम्पमा आएका रहेछन् ।

कम्पनीमा काम गरिरहेका गुरुङले मलेसियामा नै झण्डै १० बर्ष बिताएको सुनाए । तर एक दिन टन्न रक्सी खाएर नेपाली–नेपाली झगडा गर्दा प्रहरीले उनलाई पक्राउ गरेछ । मलेसियामा झगडा गर्दा अर्काको रगत बग्यो भने त्यसलाई ठूलो घटना मानिदो रहेछ । ‘गुरुङको छोरो अलि बढिनै भएछ, त्यसबेला के–के भयो, पछि मलाई त प्रहरीले पो लगेछ’ उनले भने ।

उनलाई ५ महिना जेल जीवन सकाएर प्रहरी क्याम्पमा ल्याइएको रहेछ । उनी बोल्न सक्ने तर खुट्टा नचल्ने अवस्थामा रहेछन् । ‘पहिला तन्दुरुस्त मानिस अहिले त खुट्टा नै नचल्ने चै कसरी भयो ? की प्रहरीले कुटेर चल्न नसकेको हो ?’ मैले सोधे ।

उनको पहिला पनि खुट्टा दुख्ने समस्या रहेछ । औषधी नियमित खाँदै आएका रहेछन् । तर, जब उनी जेलमा परे त्यसपछि औषधी खान छुट्यो । जेलको चिसो खोर त्यसमाथि औषधी खान छोडेपछि उनको खुट्टा विस्तारै चल्न छोडेको रहेछ ।

अहिले एक ठाउँबाट अर्को ठाउमा जान अर्कोले बोक्नु पर्छ । उनी हिड्न सक्दैनन्, शौचालय जान झनै कठीन छ । उनी बिस्तारै–बिस्तारै गल्दै जान थालेका रहेछन् । नयाँ नेपाली भेट्न जाँने वित्तिकै यसरी नै आँशु बगिहाल्दो रहेछ । ‘मलेसियाको जेलमा नै मर्छु झै लाग्छ, नेपाल र आफ्नो परिवार देख्न पाउँदिन झै लाग्छ’ उनी रुन्चे स्वरमा भन्छन् ।

गुरुङले आफ्नै गल्तीले जेल सजाय भोगे, आफ्नो जीवनलाई मलेसियाको जेलमा गलाएर बसिरहेका छन् । उनलाई हामी दूतावासबाट आएको झै लागेछ, ‘अन्य देशका थुनुवालाई भेट्न दूतावास आउँछ तर नेपालीलाई भेट्न हाम्रो दूतावास कहिल्यै आएन’ उनले बताए ।

धेरै नेपाली रक्सी खाएर झगडा गरेर, कम्पनी छोडेर भागेर, केही गैरकानूनी काम गरेर जेल पर्ने गरेका रहेछन । केही नेपालीहरु त बिना अपराधमा समेत जेलमा परेका रहेछन् ।
केशुजीले अन्य नेपालीहरुसँग कुरा गर्नुभयो म भने गुरुङसँग बस्दा बस्दै हाम्रो समय सकिएछ । बाहिर जाने बेला केशुजीले सोध्नुभयो केहि खानेकुरा किनिदिऔं । सबैले भने–‘नून किनिदिनु है, यहाँ नून खान नपाएर कस्तो भएको छ, खाना हे¥यो भने आफ्नै अनुहार देखिन्छ ।’

बाहिर आयौं । गुरुङको आँशुले तिरमिर बनाइरहयो ।

गुरुङले मलेसियामा नै विगत ६/७ बर्षदेखि भाइटिका लगाएको एक बहिनी बनाएका रहेछन् । मलेसियाकै एक कम्पनीमा कार्यरत बहिनी जिना बस्नेत बेला बेला भेट्न जाने गरेकी रहिछन् । भेट्न जाँदा खानेकुरा र पैसा दिने गरेकी रहिछन् ।

बाहिर निस्केपछि हाम्रो जिनासँग पनि भेट भयो । उनले एकपटक दाईलाई पैसा छोडेर आएको तर प्रहरीले दिएनछ । उनले पछि गएर किन नदिएको भनेर सोध्दा उल्टै यसलाई पनि जेलमा हाल भनेर थर्काएको बताइन् । रगत होइन भावनाको साइनोले बहिनी बनेकी जीना बेलाबेला दाईलाई भेटिरहन्छिन् र उनको आँशु पुसिदिइरहन्छिन ।

हामी बाहिर आउँदै गर्दा केशुजीले गुरुङसहित अन्य केही नेपालीहरु यही अगष्ट ९ तारिख नेपाल फर्कने डकुमेण्ट तयार भइरहेको बताए । नेपाली दूतावासले गुरुङको ट्राभल डकुमेन्ट बनाइसकेको र अन्य कागजात पनि पुरा भैसकेको थापाले बताए ।

जनउद्धार केन्द्र पेनाङले सबै कागजातसहित नेपाल फर्काउन पहल गरिरहेको रहेछ । केन्द्रका अध्यक्ष समेत रहेका केशु थापा आफै विभिन्न जेलमा पुगेर नेपालीहरुको अवस्थाका बारेमा बुझ्ने र नेपालीहरुलाई स्वदेश फर्काउन जुटिरहेका छन् । त्यही भएर मलेसियामा दुःख पाउने हरेक नेपालीले केशु थापालाई सम्झिदा रहेछन ।

मन केही शान्त भयो, गुरुङले आफ्नै देशमा आफ्नै परिवारसँग बसेर उपचार गराउन पाउने भए, अनि सुखदुःख स्वदेशमा नै साट्न पाउने भए ।

५२ बर्षे गुरुङलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न उनको परिवार जति आतुर छ त्यति नै म पनि ….।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *