सयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो मुलुकमा विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई घरफिर्ति या वैद्य हुनका लागि आजबाट तीन महिनासम्मका लागि आममाफीको समय दिएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्मका लागि युएईले दिएको आममाफिको अवसरबाट अवैधानिक रुपमा युएईमा बसिरहेका विदेशी नागरिकसहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

यो अवसरबाट बिना भिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र बिना सजाय आफ्नो देश फर्कन वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

नेपाली दूतावास युएईले एक विज्ञप्ती नै जारी गरी अवैधानिक रुपमा युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई आममाफीमा सहभागी हुन भन्दै जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

दूतावासले भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउने जानकारी दिएको छ । पासपोर्ट नभएका कामदारहरुका हकमा दूतावासमार्फत निवेदन दिएर यथाशिघ्र पासपोर्ट बनाउन सकिने र यसका लागि आवश्यक प्रवन्ध गरिएको पनि दूतावासले जनाएको छ ।

आजबाट युएईमा आममाफी लागू, अवसर उपयोगका लागि दूतावासको आग्रह

यस अवसरको सदुपयोग गरी स्वदेश फर्कन चाहने कामदारहरुले आफुलाई पायक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिएपछि नेपाली दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमतिपत्र पाएको १० दिनभित्र युएई छाडिसक्नुपर्नेछ । आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरु फेरि युएई आउन पाउनेछन् । हवाइ टिकट भने व्यक्ति स्वयंले नै व्यहोर्नुपर्नेछ ।

यस्तै युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ । ६ महिनाको समयमा काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ । कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लगाइने छैन ।

अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा भने उनीहरू स्वदेश फर्कन चाहेमा विना कुनै जरिवाना र जेलसजायँ स्वदेश फर्कन सक्ने तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्ने जनाइएको छ ।