आजबाट युएईमा आममाफी लागू, अवसर उपयोगका लागि दूतावासको आग्रह

news-details

सयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो मुलुकमा विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई घरफिर्ति या वैद्य हुनका लागि आजबाट तीन महिनासम्मका लागि आममाफीको समय दिएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्मका लागि युएईले दिएको आममाफिको अवसरबाट अवैधानिक रुपमा युएईमा बसिरहेका विदेशी नागरिकसहित नेपालीले पनि फाइदा लिन सक्नेछन् ।

यो अवसरबाट बिना भिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिना जरिवाना र बिना सजाय आफ्नो देश फर्कन वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने भएका छन् ।

नेपाली दूतावास युएईले एक विज्ञप्ती नै जारी गरी अवैधानिक रुपमा युएईमा रहेका सम्पूर्ण नेपालीहरुलाई आममाफीमा सहभागी हुन भन्दै जतिसक्दो चाँडो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

दूतावासले भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउने जानकारी दिएको छ । पासपोर्ट नभएका कामदारहरुका हकमा दूतावासमार्फत निवेदन दिएर यथाशिघ्र पासपोर्ट बनाउन सकिने र यसका लागि आवश्यक प्रवन्ध गरिएको पनि दूतावासले जनाएको छ ।

यस अवसरको सदुपयोग गरी स्वदेश फर्कन चाहने कामदारहरुले आफुलाई पायक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिएपछि नेपाली दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमतिपत्र पाएको १० दिनभित्र युएई छाडिसक्नुपर्नेछ । आफ्नो देश फिर्ता हुन चाहेका नागरिकले शुल्क वा सजाय तिर्नुपर्ने छैन । यसरी स्वदेश फर्किएकाहरु फेरि युएई आउन पाउनेछन् । हवाइ टिकट भने व्यक्ति स्वयंले नै व्यहोर्नुपर्नेछ ।

यस्तै युएईमा भिसा अवधिभन्दा धेरै बसेकाहरुले काम खोज्नका लागि ६ महिनाको समय पाउनेछन् । तर उनीहरुको हकमा ६ महिनासम्मको अस्थायी भिसा हुनेछ । ६ महिनाको समयमा काम गर्ने सम्बन्धित कम्पनीको प्रायोजनमा कामदार अनुमति भिसा लगाइसक्नु पर्नेछ । कामदार अनुमति भिसा लगाउन नसकेमा अतिरिक्त शुल्क तिरेर फेरि अस्थायी भिसामा बस्न पाइने छ । स्वदेश फर्किन चाहेमा जरिवाना र कुनै प्रतिबन्ध लगाइने छैन ।

अवैधानिक तवरले युएई प्रवेश गरेकाहरुको हकमा भने उनीहरू स्वदेश फर्कन चाहेमा विना कुनै जरिवाना र जेलसजायँ स्वदेश फर्कन सक्ने तर, उनीहरुलाई २ वर्ष युएई आउन प्रतिबन्ध लाग्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *