इमाडोलमा ३५ करोडको आधुनिक कस्मेटिक्स उद्योग, विश्वस्तरीय ‘ओरा’ ब्रान्ड बजारमा

news-details

काठमाडौँ — गैरआवासीय नेपाली (एनआरएन) को लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्ने बहस चलिरहेका बेला ललितपुरको इमाडोलमा आधुनिक कस्मेटिक्स उद्योग सञ्चालनमा आएको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पूर्वअध्यक्ष विनोद कुँवरको नेतृत्वमा स्थापित ‘एन.के. कस्मेटिक्स प्रालि’ ले कोरियन प्रविधि र नेपाली श्रमको संयोजनमा ‘ओरा’ ब्रान्डका विश्वस्तरीय कस्मेटिक्स उत्पादन बजारमा ल्याएको हो ।

ललितपुरको महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा स्थापित यस अत्याधुनिक उद्योगमा ३५ करोड रुपैयाँभन्दा बढी लगानी गरिएको कम्पनीले जनाएको छ । नेपाललाई दक्षिण एसियाकै गुणस्तरीय सौन्दर्य सामग्री उत्पादन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित उद्योग स्थापना गरिएको हो ।

विदेशमा आर्जन गरेको अनुभव, सीप र पुँजीलाई स्वदेशमै लगानी गर्नु आफ्नो दायित्व भएको उद्योगका अध्यक्ष कुँवरले बताए । “नेपालमा सम्भावना छैन भन्ने निराशाजनक धारणा परिवर्तन गर्न आवश्यक छ,” अध्यक्ष कुँवरले भने, “आधुनिक प्रविधि, दक्ष व्यवस्थापन र प्रतिबद्धता भए नेपालमै अन्तर्राष्ट्रिय स्तरका वस्तु उत्पादन गर्न सकिन्छ भन्ने प्रमाण ओरा ब्रान्ड हो ।” उनले देशलाई आयातमुखी नभई उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान स्वदेशी उद्योगको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कम्पनीले कस्मेटिक्सबाहेक खाद्य तथा पेय पदार्थ क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको जनाएको छ । कोरियामा लोकप्रिय चाउचाउ तथा विश्व बजारमा चर्चित कोरियन रक्सी ‘सोजु’ समेत नेपालमै उत्पादन सुरु गरिएको कुँवरले जानकारी दिए ।

उद्योगकी प्रबन्ध निर्देशक एवं एनआरएनए आईसीसीकी सह–कोषाध्यक्ष गङ्गा खतिवडाले ‘ओरा’ का उत्पादनहरू नेपाली मौसम, वातावरण र यहाँका नागरिकको छालाको प्रकृतिअनुसार विकास गरिएको स्पष्ट पारिन् । “यो केवल सौन्दर्य सामग्री मात्र होइन, गुणस्तर र विश्वासको प्रतिफल हो,” खतिवडाले भनिन्, “नेपालमै उत्पादन हुने भएकाले ओरा ब्रान्डको प्रयोगले नेपाली श्रमिक र नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष सहयोग पुग्छ ।”

हाल कम्पनीले फेस केयर, स्किन केयर तथा व्यक्तिगत हेरचाह (पर्सनल केयर) सम्बन्धी विभिन्न उत्पादन बजारमा ल्याइसकेको छ । निकट भविष्यमै थप १० देखि १५ वटा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी भइरहेको छ । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुँदा १ सयभन्दा बढी प्रकारका कस्मेटिक्स उत्पादन गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।

उद्योगले हाल दर्जनौँ नेपाली युवालाई प्रत्यक्ष रोजगारी दिएको छ भने वितरण, बजार व्यवस्थापन र आपूर्ति प्रणालीमार्फत सयौँ व्यक्तिलाई आर्थिक गतिविधिमा जोडेको छ ।

दीर्घकालीन रूपमा दक्षिण एसिया, मध्यपूर्व र युरोपलगायतका अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्ड निर्यात गर्ने रणनीति कम्पनीको छ । ब्रान्डलाई युवा पुस्तामाझ लोकप्रिय बनाउन कम्पनीले नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री परीक्षा लिम्बूलाई ‘ब्रान्ड एम्बासडर’ नियुक्त गरेको छ । कोरियन प्रविधि, एनआरएनको अन्तर्राष्ट्रिय अनुभव र नेपाली श्रमको यो संयोजनलाई आर्थिक रूपान्तरण र आत्मनिर्भरताको एक उदाहरणीय पहलका रूपमा हेरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया