पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उपभोक्ता मञ्च नेपालको आपत्ति, पारदर्शिता र मूल्य नियन्त्रणको माग

news-details

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा कमी गरिएको विषयप्रति उपभोक्ता मञ्च नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइनुका साथै केही वस्तुको आपूर्ति घटाइएको विषयप्रति चिन्ता व्यक्त गरेको हो।

विज्ञप्तिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले देशभरका उपभोक्तामा प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ। विशेषगरी यातायात, दैनिक उपभोग्य वस्तु, खाद्यान्न तथा सेवा क्षेत्रमा लागत बढ्दै जाँदा समग्र बजारमा महँगी बढ्ने अवस्था सिर्जना भएको मञ्चको भनाइ छ। यसले मध्यम तथा न्यून आय भएका वर्गलाई थप मारमा पारेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

उपभोक्ता मञ्च नेपालले नेपाल आयल निगमलाई मूल्यवृद्धिको आधार, अन्तर्राष्ट्रिय बजारको अवस्था तथा लागत संरचना स्पष्ट रूपमा सार्वजनिक गर्न आग्रह गरेको छ। साथै बारम्बार हुने मूल्यवृद्धिले उपभोक्ताको जीवनस्तरमा गम्भीर असर परेको भन्दै सरकारले मूल्य नियन्त्रण तथा सहुलियतका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिएको छ।

मञ्चले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्ने तथा एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुमा आपूर्ति घटाउँदा उपभोक्तालाई प्रत्यक्ष असर पर्ने भएकाले यसतर्फ आयल निगमले गम्भीर हुनुपर्ने जनाएको छ।

दीर्घकालीन रूपमा वैकल्पिक ऊर्जाको प्रवर्द्धन र सार्वजनिक यातायात सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने मञ्चको सुझाव छ। उपभोक्ताको हित संरक्षणका लागि सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्न पनि मञ्चले आग्रह गरेको छ।

उपभोक्ता मञ्च नेपालका महासचिव शत्रुघ्न प्रसाद देवले जारी गरेको विज्ञप्तिमा उपभोक्तालाई आफ्ना अधिकारप्रति सचेत रहन र यस्ता विषयमा आवाज उठाउन पनि आह्वान गरिएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया