सरकारी अनुदान पाएका काठमाडौका कृषक भन्छन–‘कृषि कर्ममा लाग्न उर्जा मिलेको छ’
- रोजगारमञ्च
- असार ५, २०८२
- 0
काठमाडौं उपत्यका भित्र कृषि पेशामा लागिरहेका कृषकहरुले सरकारी अनुदान पाएपछि थप उत्साही हुँदै आफ्नो व्यवसाय विस्तार गरिरहेका छन् ।
आफ्नै देशमा स्वरोजगार बन्दै कृषिमा लागेका कृषकहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले साथ दिएपछि उनीहरु उत्साही भएका हुन् । परियोजनाले कृषकहरुलाई व्यवसायीकरण र यान्त्रिकरणमा सहयोग गर्दै कृषिमा आत्मनिर्भर बनाउन खोजिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई भक्तपुरले केही दिन अगाडि संयुक्त अनुगमन गर्दै ललितपुर र भक्तपुर जिल्लामा सरकारी अनुदान पाएका कृषकहरुको अवस्था, कृषकहरुले व्यवसायमा मारेको फड्को र उनीहरुको अपेक्षाका बारेमा प्रत्यक्ष प्रतिक्रिया लिएको थियो ।
***
गोदावरी नगरपालिका–११ चापागाउँमा च्याउ खेती गरिरहेका चित्रराज तिमल्सिना पहिलो पटक सरकारी अनुदान पाएपछि थप उत्साही बनेका छन् । कृषि क्षेत्रमा २५ वर्षदेखि निरन्तर लागिरहेका तिमल्सिनाले सरकारी अनुदान २ लाख ६० हजार लिएर युनिक च्याउ उद्योग संचालन गरिरहेका छन् ।
कृषि अभियानकर्तासमेत रहेका उनी च्याउ खेती राम्रो भए पनि बजार पाउन नसक्दा सोचेजस्तो फाइदा लिन नसकिएको गुनासो गर्छन । तथापी सरकारी अनुदानले काम गर्न भने थप प्रोत्साहन मिलेको उनको भनाई छ ।
तिमल्सिनाले आफ्नो फर्ममा गरिब, मेहनेती तथा कृषिमा केही सिक्न चाहनेका लागि निःशुल्क प्रशिक्षणका साथसाथै विभिन्न विद्यालयबाट प्राक्टिकल गर्न आउनेहरुलाई पनि सहयोग गरिरहेको बताए । उनले ल्याबबाट च्याउको बिउ उत्पादन गरेर बिउ पनि बिक्री गर्दै आइरहेका छन् । ‘यदि कसैलाई च्याउ खेती गरेर स्वरोजगार बन्न मन भए हामीकहाँ आउनुहोस् हामी यसका लागि खुल्ला दिलका साथ सहयोग गर्छौ’ तिमल्सिना भन्छन् ।
***
गोदावरी नगरपालिका–५ लेलेमा शुभ सन्देश कृषि तथा पशुपालन फर्म संचालन गरिरहेका श्यामहरी नगरकोटी आफ्नो पेशाप्रति खुशी छन् । दुई पटक सरकारी अनुदान लिएका नगरकोटीले २३ रोपनी क्षेत्रफलको जग्गामा ३ वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आइरहेका छन् ।
नगरकोटी वर्षको करिब ४० लाख बराबरको कारोवार हुने बताउँछन् । यद्यपी कृषि पेशामा बजार मुल्यदेखि कामदार, जग्गा, विऊबिजन तथा बिभिन्न रोगका समस्या झेल्नु परेको नगरकोटीको बुझाई छ । कृषि पेशामा समस्या भएपनि सरकारले सहयोग गरिदिदा कृषकहरुमा छुट्टै हौसला थपिने सुनाउँदै उनी भन्छन ‘स–साना कृषि पेशा गर्ने किसानहरुका लागि यस्ता अनुदान र सहयोग असाध्यै महत्वपूर्ण हुन्छन् ।’
***
विगत १५ वर्षदेखि निरन्तर कृषि पेशामा संलग्न ललितपुर लेलेकी गिता खत्री सरकारी अनुदान पाएपछि खेती किसानीमा थप सुविधा मिलेको बताउँछिन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले कृषि सामाग्रीहरुका लागि १ लाख ८ हजार रुपैयाँ अनुदान दिएपछि त्यति नै थप लगानी गरेर उनले श्री गणेश कृषि फर्ममार्फत व्यवस्थित खेती सुरु गरेकी छिन् ।
‘यस्ता खालका परियोजनाले किसानलाई राहत मिल्नुका साथै कृषि पेशा गर्न थप उर्जा आउने रहेछ’ उनले भनिन् । खत्रीले २५ रोपनी क्षेत्रफलमा गोलभेडा, काक्रा, काउली, बन्दा, आलु जस्ता मौसमी तरकारी खेती गर्दै आएकी छिन । उनले खेतीमा सघाउँनकै लागि मासिक तलब दिएर ३ जना कामदार राखेको र धेरै काम हुने बेला हाजिरीमा अन्य कामदार बोलाउने गरेको बताइन् । वार्षिक रुपमा यो व्यवसायबाट ४–५ लाख आम्दानी गरिरहेको बताउदै खत्री कृषि क्षेत्रमा मेहनेत गरेर निरन्तर रुपमा लाग्यो भने राम्रो आम्दानी गर्न सकिने बताउँछिन् ।
***
रोजगारीको सिलसिलामा २ वर्ष विदेश बसेर आएका व्यक्ति हुन् सागर थापा । विदेशमा गरेजति दुःख आफ्नै ठाँउमा गर्नसके सुन फलाउन सकिन्छ भन्ने सोच आएपछि स्वदेश फर्किएको उनको भनाई छ । नेपाल फर्किएपछि उनले सागर कृषि तथा पशु फर्ममार्फत भैँसी पालन तथा मौसमी तरकारी खेती गर्दै आइरहेका छन् । सुरुमै व्यवसायको लागि सरकारी सहयोग पाएका उनी पहिल्यै यस्तो आँट र हौसला मिलेको भए विदेशमा दुःख गर्न जानु नपर्ने स्मरण गर्छन । ‘सरकारको सहयोगले हामीजस्ता युवालाई आफ्नै देशमा केहि गर्ने वातावरण मिलेको छ, यस्ता सहयोग मिले धेरै युवाहरु विदेशमा दुःख गर्न जानुपर्ने थिएन’ उनले भने ।
५ लाख २४ हजार ८ सय रुपैया लगानीमा फर्म सुरु गरेकोमा २ लाख ६४ हजार ८ सय आफुले व्यक्तिगत लगानी गरेको र बाकी २ लाख ६० हजार रुपैया प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पाएको थापाले बताए ।
अहिले दैनिक १४–१५ लिटर दुध बजारमा बेच्दै आएको बताउदै थापाले यसबाट दैनिक १६ देखि १७ सय रुपैयाँ आउने तथा तरकारीबाट पनि राम्रो आम्दानी भैरहेको बताए । अहिलेसम्म कामदार नराखेको बरु आफू र परिवार मिलेर नै यी सब काम गरिरहेको उनको भनाई छ ।
***
चाँगुनारायण नगरपालिका २, भक्तपुरमा विगत ३ वर्षदेखि प्रधान पशु तथा कृषि फार्म संचालन गर्दै आएका प्रदिप प्रधानले छोटो समयमै उल्लेख्य सफलता पाएका छन् । अनुदान वापतको ३ लाख र आफनो स्वलगानी ३ लाख ३६ हजार ८७६ गरेर ६ लाख ३६ हजार ८७६ रुपैया लगानीमा सुरु गरेको उनको फार्ममा अहिले ३२ वटा गाई–भैँसी, ५० वटा बाख्रा तथा हजारौ कुखुरा छन् । यसका साथै उनले ५ रोपनी क्षेत्रफलमा तरकारी खेती पनि गर्दै आएका छन् ।
अहिले दैनिक ९० लिटर दुध उत्पादन भैरहेको जानकारी दिदै प्रधानले यसलाई बढाएर दैनिक २०० लिटर दुध उत्पादन गर्ने लक्ष्य राखेको बताए । फार्ममा उत्पादित दुध लोकल मार्केटमै खपत भैरहेको र तरकारी भने बानेश्वरमा बिक्रिवितरण गर्ने गरेको उनको भनाई छ । आगामी दिनमा थप आधुनिक गोठ बनाएर गाईभैसी अझ बढाउने योजनामा रहेका उनले भने ‘सरकारबाट प्राप्त अनुदानले हामीजस्ता किसानहरुलाई राहत मात्र होइन कृषि पेशामा लाग्न सकारात्मक उर्जा पनि मिलेको छ ।’
***
विगत १६–१७ वर्षदेखि कृषि पेशा गर्दे आएका चाँगुनारायण नगरपालिका ४ भक्तपुरका पुस्कर केसीले मुख्यतय गोलभेडाको खेती गर्दै आएका छन । गोलभेडा खेतीकै लागि २० रोपनी जग्गा भाडामा लिएका उनले १० रोपनीमा ९ वटा टनेल बनाइसकेका छन भने बाँकी १० रोपनीमा पनि टनेल निर्माण गर्ने तयारी भैरहेको बताए ।
केसीले अनुदानबाट प्राप्त २ लाख ५४ हजार ८ सय रुपैया र आफ्नो व्यक्तिगत लगानी २ लाख ७६ हजार ६ सय ४६ गरेर कुल ५ लाख ३१ हजार ४४६ रुपैया लागतमा लक्ष्मी कृषि फार्म सुरु गरेका हुन । उनले जग्गाको प्रति रोपनी वार्षिक २५ हजार रुपैया भाडा तिर्दै आएको र स्थाई रुपमा ४ जना कामदार राखेको बताए । सरकारले अनुदानसँगै बिऊविजन तथा प्राविधिक सीप प्रदान गरे अझ सजिलो हुने उनको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत विभिन्न कृषि सामाग्रीका साथसाथै आर्थिक सहयोग पाएका उनले किसानहरुको पलायन रोक्न यस्ता परियोजनाले सहयोग पु¥याउने बताउँछन । ‘देशमा रोजगारी छैन भन्ने भाष्य सृजना भएकोे छ तर हामीले यहाँ कामदार नै पाउन नसकेको अवस्था छ’ उनी भन्छन ‘युवा पलायन रोक्न पनि सरकारले कृषि तथा किसानहरुसँग जोडिएका यस्ता कार्यक्रमहरु धेरै भन्दा धेरै ल्याउनु आवश्यक छ ।’
***
गणेश पौडेल विगत लामो समयदेखि कृषि पेसा गर्दै आइरहेका किसान हुन् । उनले चाँगुनारायण–४ भक्तपुरमा श्री महादेव कृषि तथा गाई पालन फार्म संचालन गर्दै आएका छन् । कुल ६ लाख ७८ हजार ५४७ रुपैया लागतमा १५ रोपनी क्षेत्रफलमा करिब १०० वटा टनेला लगाएका उनले सरकारबाट ३ लाख २१ हजार ४४० रुपैया अनुदान पाएका छन ।
गोलभेडा, काक्रा तथा मौसम अनुसारका तरकारी खेती गर्दै आइरहेका उनले अहिले वार्षिक रुपमा ४ देखि ५ लाखसम्म नाफा आर्जन गरिरहेको बताए । सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकदमै राम्रो र पारदर्शी भएको अनुभव मिलेको बताउदै पौडेल भन्छन ‘परियोजनाका कर्मचारीहरु किसानप्रति एकदमै सकारात्मक रहेको र वास्तविक किसानलाई सहयोग गरेर राहत दिलाएको अनुभूति भयो ।’
***
भक्तपुरकै चाँगुनारायण नगरपालिका ३, झौखेलमा एस.के कृषि तथा च्याउ फार्म संचालन गरिरहेका पुुरुशोत्तम कोजु करिब ८ वर्ष देखि निरन्तर रुपमा च्याउ खेतीमा लागिरहेका छन् । हाल २ रोपनी क्षेत्रफलमा च्याउ खेती गर्दै आइरहेका उनी सरकारको अनुदानले यस काममा लाग्न ठुलो राहत महसुस गराएको बताउँछन ।
४ लाख स्वलगानी र २ लाख ६० हजार सरकारी परियोजनामार्फत आएको सहयोग रकम लगाएर उनले कृषि कर्म जारी राखेका छन् । कृषि क्षेत्रमा लगनशील र परिश्रमी भएर लाग्यो भने राम्रो आम्दानी हुने अनुभव प्राप्त गरेको बताउदै उनले कहिले काहि बजार भाउ घट्दा भने अलिक मार पर्ने गरेको बताए ।
***
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई भक्तपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत चुडामणी भट्टराई कृषकलाई आफ्नो क्षेत्रमा लाग्नका लागि केही उर्जा मिलोस भनेर परियोजना कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका कृषकहरुका लागि सहयोग पु¥याउन विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउँछन ।
परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमहरु कस्तो रह्यो, यस्का राम्रा पक्षहरु केके हुन, कस्ता उपलब्धीहरु हाँसिल भए तथा त्यसमा भएका कमी कम्जोरीहरु औल्याउने र किसानहरुका थप जिज्ञाशा र मागहरुलाई आउने कार्यक्रमहरुमा सुधार गर्दै सम्बोधन गर्ने हिसावले संयुक्त अनुगमन गरेको भट्टराईको भनाई छ । ‘यस्ता कार्यक्रमले किसानहरुलाई व्यवसायीकरण, यान्त्रीकरण र आत्मनिर्भर बनाउन सहयोग गरिरहेको पाइएको छ’ प्रमुख भट्टराईको भनाई छ । मुख्तया किसानहरुले यो अनुदान प्राप्त गर्दा उनीहरुले व्यवसायमा फड्को मारेको अनुभवसँगै यसलाई निरन्तरता दिन आगामी दिनहरुमा अझ ठुलो स्केलको सहयोग पाए हुन्थ्यो भन्ने किसानहरुको सुझाव रहेको भट्टराईको भनाई छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई भक्तपुरले यो वर्ष १६९ मेट्रिक टन कृषि चुन, ९० मेट्रिक टन भर्मी कम्पोष्ट, आलु जोनका क्षेत्रहरुमा ७९८ क्वीन्टल विभिन्न प्रजातीका आलुहरु, ११५० भन्दा बढी नयाँ तथा पुराना टनेल मर्मत तथा करिब २० हेक्टर टनेलको क्षेत्र विस्तार, २१० मीनी टिलर सिँचाईका ११५ योजना मार्फत थोपा सीँचाईमा ३५० रोपनी, १२ बोरिङ, १० ईनार, १० पक्की पोखरी, त्यस्तै पशुपालनमा भ्याक्सीन, सिबिर, घाँस प्रवर्धन, यान्त्रीकरण गर्न ५४ च्याप कटर, ५३ वटा दाना बनाउने कम्बाईन मिल लगायतका कृषि सामाग्रीहरु सहयोग गरेको जनाएको छ । त्यसैगरी परियोजना अन्तर्गत काठमाडौं भक्तपुर र ललितपुरमा ६ वटा जोन विकासमा सहयोग गरी रहेको छ । कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउनका लागि कृषिलाई व्यवसायीकरण तथा यान्त्रीकरण गर्नका लागि, उद्यमशिलता विकासका लागि तथा क्षेत्र विस्तारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रमुख भट्टराई बताउँछन् ।
चालु आर्थिक बर्षमा करिब ३७ वटा उद्धमशीलताका कार्यक्रमहरु गरेको र जसबाट २१ वटा नयाँ गोठ निर्माण, ५ वटा च्याउका विभिन्न घरहरु, ९ वटा तरकारीका ठुला व्यवसायीक फर्महरु र मासु प्रवर्धनमा २ वटा गरि विभिन्न योजनाहरुमा सहयोग गरेको र अब यीनै र यस्तै कार्यक्रमहरुलाई निरन्तरता दिने भट्टराईको भनाई छ । चालु आर्थिक वर्षमा बजेटको ८३ प्रतिशत वित्तीय प्रगती पुगेको र यो आवको योजनाहरु समापनको क्षणमा रहेको जनाइएको छ । परियोजनाको नयाँ आर्थिक वर्षको कार्यक्रमहरु स्वीकृत भएर आइसकेको र अब साउनमा नयाँ सुचना आह्वानपछि अहिलेसम्म अनुदानमा सहभागी नभएका किसानहरुले सहभागी भएर लाभ लिन इकाई प्रमुख भट्टराईको आग्रह छ ।
कृषिमा लाग्नेहरुको बजारमुल्य पाउने र सरकारले यस्ता प्रकारका सहयोग गर्ने हो भने स्वदेशमा नै कृषि पेशामा लागेुर सफल बन्न सकिनेछ । कृषकहरुका आवाज र समस्यालाई सरकारले सुनेर उनीहरुका लागि कार्यक्रम ल्याउने हो भने केही लाख कमाउनका लागि विदेश जानै पर्दैन ।






































