बाढीले अवरुद्ध बनाएको सिन्धुपाल्चोक तातोपानी भन्सार नाकाको बाटो सुचारु भएको छ । असोज ११ , १२ र १३ गते परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट तातोपानी भन्सार नाकाबाट प्रवेश गर्ने बाटो र पुल बगाएपछि बाटो अवरुद्ध भएको थियो ।
पहिरोले बगाएको सडक मर्मतको काम अन्तिम चरणमा पुगेसँगै बिहीबारदेखि तातोपानी नाका पूर्ण रुपमा सञ्चालनमा आउने निश्चित भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए।
बुधबार बेलुकासम्म क्षतिग्रस्त बाटोलाई अस्थायीरूपमा मर्मतसम्हार गरी गाडी आवातजावतका लागि तयार पारिसकिएको काफ्लेले बताएका छन् ।
तत्कालका लागि अस्थायीरूपमा बाटो निर्माण गरी यातायात खुलाउने काम भएपनि यसको स्थायी उपाय खोज्न नेपाल हिमालय सीमापार वाणिज्य संघले सरकारसँग माग गरेको छ ।
चीनबाट नेपालमा मालसामान आयात निर्यात हुने प्रमुख दुई नाका तातोपानी र रसुवा भन्सार नाका बाढी पहिरोका कारण बन्द रहँदै आएका थिए।

भन्सार नाका अवरुद्ध भएपछि चीनबाट सामान ल्याएर व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरू ठुलो नोक्सानी व्योहोर्न बाध्य भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीले बताए । कार्कीले व्यापारीहरूले भोगेको नोक्सानीको यकिन नभएपनि अस्थायीरूपमा बाटो खुलेबाट व्यापारीहरूलाई केही राहत मिलेको महशुस भएको बताए ।
यसैगरी नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले अध्यक्षको नेतृत्वमा केही साथीहरू बाटोको अवस्था हेर्न गएको र बाटो बिहीबारदेखि खुल्ने प्राविधिज्ञहरूले जनाएको बताए ।








