काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशनपछि पहिलोपटक शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीको बिहीबार सम्पन्न पाँचौं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। बोनस शेयर वितरणपछि कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्तावसमेत सभाले अनुमोदन गरेको छ।
आईपीओ निष्काशनपछि कम्पनीले पहिलोपटक लाभांश वितरण गर्न लागेको यस निर्णयलाई शेयरधनीका लागि प्रतिफल वितरणको सुरुवातका रूपमा हेरिएको छ। अध्यक्ष न्यौपानेले यसअघि गत वार्षिक साधारणसभामा आर्थिक वर्ष २०८२/८३ मा दुई अंकको लाभांश वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै सोही प्रतिबद्धता पूरा गरिएको बताए।
उनले आगामी दिनमा दक्ष व्यवस्थापन, पारदर्शिता, संस्थागत सुशासन र आधुनिक प्रविधिको प्रयोगमार्फत विद्युत् उत्पादन वृद्धि, लागत न्यूनीकरण तथा दिगो प्रतिफल सुनिश्चित गर्ने लक्ष्य रहेको बताए।
सभामा अध्यक्ष न्यौपानेले यस वर्ष बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट आयोजनामा कुनै क्षति नपुगेको जानकारीसमेत गराए।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सो अवधिको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ।
त्यसैगरी, सञ्चालक समितिका निर्णय तथा कामकारबाही अनुमोदन, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृति र सञ्चालकको भत्ता तथा सेवा–सुविधासम्बन्धी निर्णय पनि सभाले गरेको छ। कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट सुझाव वा परिवर्तन आएमा आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित भएको छ।
गोरखाको धार्चे गाउँपालिका–४ स्थित माछाखोलामा कम्पनीले ४.५५ मेगावाट क्षमताको माथिल्लो माछाखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७९ माघ १७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्दै आएको छ। आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमार्फत बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।
बोनस शेयर वितरण र पुँजी वृद्धि गर्ने निर्णयसँगै कम्पनीको आगामी व्यावसायिक विस्तार तथा शेयरधनीलाई दिगो प्रतिफल दिने योजनामा लगानीकर्ताको चासो रहने देखिन्छ।








