कतारमा रहेका नेपाली व्यवसायीहरुको आधिकारिक संस्था नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यका लागि अनुरोध गरेको छ ।
नेपालको नीजि क्षेत्रको अग्रणी छाता संगठन महासंघको वैदेशिक सदस्य बन्नका लागि संघले अनुरोध गरेको हो । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईको नेतृत्वमा रहेका व्यवसायीले बुधबार महासंघको कार्यालय टेकुमा पुगेर अनुरोध पत्र बुझाएका हुन् ।
कतार सरकारमा सन् २०१८ जनवरीमा आधिकारिक दर्ता भएको संघले नयाँ व्यवसायीलाई उत्प्रेरित गर्दै सहयोग, आफ्ना सदस्यको क्षमता अभिबृद्धि तथा अधिकार रक्षा , सामाजिक तथा मानविय कार्य र स्वदेशमा सामुहिक लगानी भित्र्याउनका लागि निरन्तर काम गरिरहेको अध्यक्ष चौलागाईले सो अवसरमा जानकारी दिए ।
अध्यक्ष चौलागाईले महासंघका अध्यक्ष ढकाल समक्ष भने–‘ हाम्रो संघलाई महासंघको विधान अनुसार वैदेशिक शाखा सदस्यका रुपमा अनुवन्धन गरिदिनुहुन अनुरोध गर्दछौं, हामी महासंघको गरिमालाई थप इंटा जोड्ने छौं ।’

नेपाल व्यवसायी संघ कतारको अनुरोधलाई स्वीकार गर्दै अध्यक्ष ढकालले महासंघको विधान अनुसार वैदेशिक सदस्य बनाउनका लागि आगामी बैठकले निर्णय गर्ने प्रतिवद्धता जनाए । उनले भने–‘तपाईहरुको अनुरोधलाई हामीले स्वीकार गर्दै निर्णयका लागि अवको वैठकमा पठाउने छौं, महासंघले कतारमा क्रियाशिल व्यवसायी संघलाई आफ्नो सदस्यकारुपमा पाउनु हाम्रो लागि पनि गर्वको विषय हो ।’
सो अवसरमा काठमाडौंमा रहेका संघका उपाध्यक्षद्वय राजेन्द्रकुमार शर्मा र राज रेग्मी, व्यवसायी प्रेम चौलागाई, समिर मास्के र महासंघका उपाध्यक्ष हेमराज ढकाल, सदस्य नानिराज घिमिरेलगायतको उपस्थिति रहेको थियो ।








