नेपाल मेडिकल व्यवसायी संघको सातौं वार्षिक साधारण सभापछि चुनिने नयाँ कार्यसमतिमा सहमति जुट्न नसकेपछि तत्कालका लागि स्थगित भएको छ ।
संघको शनिवार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम र बन्द सत्रका कार्यक्रम शनिबार सम्पन्न भएपनि नयाँ कार्यसमितिको निर्वाचन भने हुन नससकेको हो ।

संघको नयाँ नेतृत्वका लागि बर्तमान उपाध्यक्ष कला दाहालको पक्षमा सर्बसम्मत हुन लाग्दा अर्का व्यवसायी अरूण देवले प्यानलसहित अध्यक्ष पदमा दावी गरेपछि सहमति जुट्न सकेन ।
निर्वाचन भएमा एउटा पक्ष बाहिर रहने भन्दै सहमतिमा पद बाँटफाँट गर्ने विषयमा दिनभर छलफल भएको थियो । तर अध्यक्ष को बन्ने भन्ने विषयमा सहमति नभएपछि केही पक्षले साधारण सभाको गणपुरक संख्या जस्ता प्रश्न उठाएपछि निर्वाचन समितिले शनिबार निर्वाचन स्थगित गरेको जनाएको छ ।

बर्तमान अध्यक्ष सिताराम रेग्मीसहित अग्रज व्यवसायीले दाहाललाई अध्यक्ष बनाउने बाँकी पदमा सबै मिलेर अगाडि बढ्ने जनाएपछि सहमति नभएको हो । अध्यक्ष रेग्मीले भने आफू नेतृत्व हस्तान्तरणका लागि आतुर रहेको तर व्यवसायीले आफूमात्रै नेतृत्वका लागि योग्य रहेको हठ देखाएका कारण शनिबार नयाँ कार्यसमितिको निर्वाचन नभएको बताएका छन् । उनले संघको विधानअनुसार अर्को मिति तोकेर साधारण सभालाई पूर्णता दिइने बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिभिन्न ६८ वटा मेडिकल संस्थाहरुलाई मापदण्ड पुरा नगरेको भन्दै अनलाइन बन्द गरिदिएपछि संघले त्यसै अनुसार उनिहरुलाई निलम्बनको कारवाही गर्ने निर्णय गरेको थियो । जसको कारण साधारणसभामा आधा भन्दा कम सदस्यहरुको उपस्थिति रहेको भन्दै आलोचना भएको थियो । संघको साधारणसभाको लागि गणपुरक संख्यानै नरहेको भन्दै बिरोध भईरहेको थियो ।
संघको साधारण सभा हुन कम्तिमा ६५% सदस्यहरुको साधारणसभामा उपस्थिति हुनुपर्ने थियो ।