निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री

news-details

प्रधानमन्त्री पुष्पकमल दाहालले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताएका छन् ।

प्रतिनिधिसभामा बुधबार विश्वासको मत लिने क्रममा उनले अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रो हुँदै गएको बताए ।

उनले भने, ‘चालु आर्थिक बर्षको सात महिनाको अवधिमा दुई खर्ब ९७ अर्ब ७२ करोड रुपंैयाँले शोधनान्तर बचत छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘विदेशी विनिमय सञ्चिती १९ दशमलव ९ प्रतिशतले बृद्धि भई झण्डै १८ खर्ब ४५ अर्ब रुपैंयाँ बराबर पुगेको छ ।’

व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको उल्लेख गर्दै उनले आन्तरिक अर्थतन्त्रतर्फ सात महिनाको अवधिमा मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित गरिएको भन्दै कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको बताए ।

उनले भने, ‘विद्यमान आर्थिक अवस्थालाई सरकारको ठूलो उपलब्धिका रुपमा व्याख्या गर्न नसकिने होइन तर आन्तरिक उत्पादन र रोजगारी वृद्धिमा अपेक्षित प्रगति हुन सकेको छैन, पूँजीगत खर्च पनि अपेक्षा अनुसार बढाउन सकिएको छैन । राष्ट्रिय गौरव र प्राथमिकताप्राप्त आयोजनालाई थप द्रुतता दिने, पुँजीगत खर्च बढाउने र सार्वजनिक सेवा प्रवाहमा थप सुधार गर्नुपर्ने छ ।’

बैंक तथा वित्तीय क्षेत्र र मौद्रिक नीतिमा गरिएका सुधारका कारण बैंकहरूको आधार ब्याजदर एकल अंकमा पुगेको र ऋणको ब्याजदर घटेको पनि उनको भनाई छ ।

उनले प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाउनु, प्रक्रियागत अवरोधहरु हटाउनु र निजी क्षेत्रको क्षमताको पूर्ण उपयोग हुने वातावरण सिर्जना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको पनि बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *