नेपाल र अष्ट्रेलिया सम्झौता : राजदूत पोखरेल र सहायक विदेशमन्त्री वाट्सले व्यापार तथा लगानी बढाउन गरे हस्ताक्षर

परराष्ट्र मन्त्री साउद र अष्ट्रेलियाली विदेश मन्त्री वोङको उपस्थितिमा सम्झौता
news-details

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अष्ट्रेलियाको पर्थमा शुक्रवारबाट शुरु भएको सातौँ हिन्द महासागर सम्मेलनमा दुई देशबीच सम्झौता भएको हो ।

सम्मेलनलाई संवोधन गर्न पर्थ आइपुगेका परराष्ट्र मन्त्री एनपी साउद र अष्ट्रेलियाली विदेश मन्त्री पेनी वोङको उपस्थितिमा दुई देशबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरूले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्वपूर्ण हुने बताएका छन् ।

सम्झौतामा हस्ताक्षर गरेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको जनाएका छन् ।

‘अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन्, हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले आफ्नो ट्विटरमा लेखेका छन् ।

वाट्सले गत वर्ष गरेको नेपाल भ्रमणको स्मरण गरेका छन् । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरुसँग आपसी सम्बन्ध थप गहिराइमा पु¥याउने अवसरका र उपायबारे कुराकानी गरेको उनको उनले सम्झिएका छन्।

त्यस बेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पु¥याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरे ।

‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटकपटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ‘पर्थमा (यसपालि) हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ। यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ।’

नेपाल र अष्ट्रेलियाबीचको सम्झौता हस्ताक्षर गर्नेसम्मको वातावरण बनाउनका लागि अष्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेलले निकै गृहकार्य गर्नु परेको थियो । राजदूत पोखरेल भन्छन्–‘ नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध अव नयाँ चिराबाट अगाडि बढ्नेछ, आजको सम्झौता आम नेपालीका लागि खुशीको सन्देश हो ।’

मन्त्री साउदले फेब्रुअरी १० मा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै पर्थमा रहँदा अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको राजदूत पोखरेलले जानकारी गराएका छन् ।

अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा हरेक वर्ष आयोजना हुदै आएको प्रत्येक हिन्द महासागर सम्मेलनमा नेपालले सहभागिता जनाउँदै आएको छ । सम्मेलनको यो सातौ संस्करण भएता महासागरले नछोएको देश नेपालले सहभागिता जनाउँदा नेपाल र नेपालीका लागि फाइदा पुग्न सकोस् भनेर अपेक्षा गरिएको छ ।

परराष्ट्र मन्त्री साउदसँग शनिवार साँझ पर्थमा रहेका नेपाली समुदायसँग छलफल तथा भेटघाट कार्यक्रम आयोजना गरिएको जनसम्पर्क समिति वेस्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकीले जानकारी दिए ।

मन्त्री साउद क्यानवेरा, न्युजिल्याण्ड हुँदै नेपाल फर्कने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री साउदलाई पर्थमा स्वागत : नेपालका लागि हिन्द महासागर सम्मेलन फलदायी हुने दावी

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *