न्यूरोडमा पार्किङ निषेध:कोही खुसी, कोही आक्रोसित

यी ९ स्थान बन्न सक्छन् वैकल्पिक पार्किङस्थल
news-details

काठमाडौंको व्यापारिक हब न्यूरोडका सडकमा पार्किङ निषेध गर्ने महानगरपालिकाको निर्णयविरुद्ध व्यवसायीहरु सटर बन्द गरेर सडक संघर्षमा उत्रिएका छन् । तर यहाँ पुग्ने सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया जनाएका छन् ।

बिहीबार सो क्षेत्रमा भेटिएका सर्वसाधारणमध्ये कतिपयले महानगरको निर्णयको प्रशंसा गर्दै खुसी व्यक्त गरे भने कतिपयले हिँडेर आउनुपरेको भन्दै आक्रोस व्यक्त गरे । सडकमा पार्किङ नहुँदा प्रशस्तै खाली ठाउँ देखिएको भन्दै कतिपय भने हर्षित देखिए ।

‘न्यूरोडको पार्किङ हटाएपछि म पहिलोपटक यहाँ आएको छु । यस्तो खुला ठाउँहरु देखेर भित्रैदेखि खुसी लाग्यो, जसले जे भनेपनि महानगरपालिकाको यो कदम अर्थपूर्ण छ,’ बिहीबार न्यूरोडमा भेटिनुभएका दलबहादुर विश्वकर्माले भन्नुभयो ।

‘सडक सार्वजनिक ठाउँ हो । त्यहाँ सवारी गुड्ने मात्रै होइन, पैदलयात्रुले हिड्ने र पर्यटकहरुले आवत जावत् गर्ने ठाउँसमेत हो, तर पार्किङका नाममा सडकलाई व्यापार गर्ने ठाउँ बनाइएको थियो,’ उहाँले भन्नुभयो, ‘महानगरले पार्किङ हटाएर राम्रो गर्‍यो । म तीन दिन अघि र पछिको न्यूरोड देखेर चकित छु । पहिले यहाँ आउँदा हिड्ने ठाउँ नै हुदैनथ्यो । आज खुला छ ।’

यही भेटिनुभएकी सलिमा प्रधानले पनि महानगरपालिकाको निर्णयको प्रशंसा गर्नुभयो । तर अर्का बैकुण्ठ दाहालले भने महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाउनुभयो । महानगरले सरोकारवालासँग छलफल नै नगरी गरेको निर्णय एकतर्फी र आफूहरुको हित अनुकुल नभएको उहाँको भनाइ छ । ‘महानगरको निर्णयप्रति हामी व्यापारी व्यवसायीको एकदमै आपत्ति छ । कुनै पनि निर्णय गर्नुपूर्व पहिला सरोकारवाला निकायसँग त्यसको असर के हुन्छ भनेर छलफल गर्नुपर्छ, हुनुपर्छ भन्ने लाग्छ,’ उहाँले भन्नुभयो, ‘महानगरले एकलौटी गरेको निर्णय हामीलाई मान्य छैन ।’ महानगरपालिकाको पार्किङ निषेध गर्ने निर्णयले गरिखाने वर्गलाई अफ्ठ्यारो पारेको उहाँले बताउनुभयो ।

अर्का सर्वसाधारण हरि बानियाँले पार्किङ व्यवस्थापन गर्छु भन्ने महानगरको कदमको स्वागत गर्नुभयो । तर अहिले महानगरले दिएको पार्किङको विकल्प व्यवहारिक नदेखिएको उहाँको भनाइ छ ।

‘सडकमा पार्किङ गर्ने कुरा हिजोदेखि नै गलत थियो । सडकमा पार्किङ हटाएर कसैले जस लिन खोजेको हो भने त्यो गलत हो । पार्किङ व्यवस्थित गर्छु भन्नु राम्रो हो, तर व्यवस्थित पार्किङको अर्को विकल्प नदिएर गरिएको यो कदम आलोचनायोग्य छ,’ उहाँले भन्नुभयो ।

पार्किङ हटाउँदा पैदलयात्री र कहिलेकाँही यहाँ पुग्ने सर्वसाधारण धेरै खुसी देखिए । तर यही व्यवसाय गर्नेहरू भने व्यापार घट्ने चिन्ताले त्रसित छन् । उनीहरू यति आक्रोसित छन् कि व्यवसाय बन्द गरेर सडक संघर्षमा उत्रिएका छन् । पार्किङका लागि राम्रो विकल्प नदिएसम्म पार्किङ हटाउन नमिल्ने उनीहरूको दाबी छ ।

त्यसो त व्यवसायीहरु पनि सबै महानगरपालिकाको विरोधमा छैनन् । कतिपयले महानगरपालिकाको प्रयासलाई सकारात्मकरुपमा समेत लिएका छन् । तर व्यवसायीहरु संगठित रहेका संस्थाहरू जस्तैः विशाल बजार व्यापार संघ, पाको युथ क्लब,मोवाइल व्यवसायी संघलगायतले विरोध गरिरहेका छन् । जसले महानगरपालिकामाथि दबाब बनाइरहेको छ ।

स्थानीय युवा उज्वल सिंह पार्किङ निषेधको निर्णयले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार स्क्वायर क्षेत्र घुम्न आउने पर्यटक र न्यूरोड क्षेत्रका विभिन्न पसलहरुमा रोजगारीमा रहेकाहरु सबैलाई असर गरेको बताउँनुहुन्छ । ‘यसले यहाँको पर्यटन व्यवसायमा असर पर्छ । काम गर्न आउने र किनमेल गर्न आउनेहरूलाई पनि असहज हुन्छ,’ उहाँले भन्नुभयो ।

पार्किङ हटाउँदा व्यापार व्यवसायमा नकारात्मक प्रभाव पर्ने र त्यसको असर त्यहाँका पसलहरुको रोजगारीमा पर्ने उहाँको भनाइ छ । ‘पार्किङको सुविधा रहेन भने सेल्स आउँदैन, त्यो नहुने बित्तिकै यहाँ काम गर्नेहरूको रोजगारी जान्छ, बिस्तारै व्यवसायी पनि पलायन हुनुपर्ने स्थिति हुन्छ,’ उहाँले भन्नुभयो ।

उहाँले महानगरपालिकाले विकल्प नदिई पार्किङ हटाउन नहुने तर्क गर्नुभयो । त्यो सडक आफैँ पार्किङका लागि बनेको होइन । ट्राफिक नियमअनुसार सडकमा पार्किङ गर्न पाइदैन । तर ट्राफिक नियमविपरीत अव्यवस्थित पार्किङले भयावह रुप लिन थालेपछि महानगरपालिकाले नै विगतमा न्यूरोडका सडकमा पार्किङ गर्न प्रोत्साहित गरेको थियो ।

तत्कालीन मेयर विद्यासुन्दर शाक्यले न्यूरोडका सडकमा पैसा लिएरै पार्किङ गर्ने गरी व्यवस्थापन गर्नुभएको थियो । त्यसपछि महानगरपालिकाले टेण्डर लगाएरै सडकमा पार्किङ शुल्क उठायो, डिजिटल प्रविधिबाट पार्किङस्थल तोकिए, बिलिङ प्रविधिसमेत डिजिटल गरियो । तर, अहिले उही महानगरपालिकाको नेतृत्व फरक हुँदा पार्किङ हटाउने निर्णयले त्यहाँका व्यवसायी त्रसित बनेका छन् ।

महानगरपालिकाले तत्काल पूरानो बसपार्कमा रहेको काठमाडौं टावरमा पार्किङ गर्न भनेको छ । तर त्यहाँबाट न्यूरोडसम्म पैदल हिँडेर पुग्न असहज हुने व्यवसायीहरूको दाबी छ ।

यता महानगरपालिकाले भने सुन्धारा र न्यूरोडका लागि सवारी पार्किङको वैकल्पिक स्थानको खोजी सुरु भएको जनाएको छ । महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले बिहीबार न्यूरोड क्षेत्रको लागि धरहरा परिसर र सुन्धाराको सञ्चयकोष भवनलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।

त्यसबाहेक पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्पलेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन लगायतका क्षेत्रलाई पनि विकल्पका रुपमा हेरिएको छ ।

त्यस्तै महानगरले विकल्पका रुपमा पुरानो बसपार्कस्थित काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था गर्ने जनाइसकेको छ । टावरमा तीन सय वटा चार पांग्रे र सात सय वटा दुईपांग्रे सवारी साधन पार्किङ गर्ने क्षमता छ ।

महानगरपालिकाले यसअघि न्यूरोडका सडकमा खुला पार्किङ गर्ने र त्यसका लागि निजी कम्पनीहरुलाई ठेक्कामा दिने गरेको थियो । तर, हाल महानगरले धर्मपथ, जुद्धसालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरेको छ ।

यसअघि दरबारमार्ग क्षेत्रको पार्किङ हटाउँदा पनि व्यावसायीहरु आन्दोलनमा उत्रिएका थिए । गत वर्ष पुसमा महानगरले दरबारमार्गको सडक किनारको एक लाइन पार्किङ हटाएपछि व्यवसायीहरुले विरोध प्रदर्शन गरेका थिए । व्यवसायीहरुका अनुसार महानगरपालिकाले एकाएक पार्किङ हटाइदिँदा उक्त क्षेत्रको व्यापारमा ६० प्रतिशतले गिरावट आएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *