महशुल पनि उठ्ने र उद्योग पनि चल्ने विकल्पमा जानुपर्छ : प्रधानमन्त्री प्रचण्ड

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने र उद्योग पनि चल्नेगरी विकल्पको बाटो रोज्नुपर्ने बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा आयोजित बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री, सचिव र अन्य पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले दुवै पक्षलाई अप्ठेरो नपर्ने गरी बीचको बाटोबाट काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उक्त विषयमा प्रधानमन्त्री प्रचण्डले अख्तियार तथा संसदीय समितिको निर्देशनलाई मनन गरी महान्यायधिवक्ताको कार्यालयको राय लिएर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् ।

‘संसदीय समिति र अख्तियारको निर्देशन पनि हेरौं । महान्यायधिवक्ता कार्यालयको राय पनि लिउँ । त्यसपछि बक्यौता पनि उठ्ने र उद्योगहरू पनि सुचारू हुने विकल्पमा जानु राम्रो हुन्छ । त्यसका लागि तपाईहरूले विकल्प खोजेर समाधान खोज्नेतिर लाग्नुस्,’ प्रचण्डले भने ।

बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारसँग भएका तथ्यहरू र प्रचलित कानुनका आधारमा ट्रङ्क र डेडिकेटेड लाइनसम्बन्धी विवाद छिटो समाधान गर्न मन्त्रालय प्रयासरत रहेको जानकारी गराए ।

मन्त्री बस्नेतले किस्ताबन्दीमा बक्यौता महशुल भुक्तानी गर्न व्यवसायीहरूलाई समय दिइएकाले महान्यायाधिवक्ता कार्यालयको समेत कानुनी राय र सल्लाह लिएर सहमतिमै समस्याको समाधान गर्नेतर्फ जोड दिए।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योगीहरूले उठाएका विषयमध्ये जायज र सम्बोधन गर्न सकिने मागमा सहजीकरण गरी उद्योग सञ्चालन गराउन मन्त्रालयले समन्वय गरिरहेको बताए ।

तर मुख्यसचिव डा.बैकुण्ठ अर्यालले विद्युत नियमन आयोगको निर्णय र प्रचलित कानुन तथा कार्यविधिअनुसार नै अन्तिम समाधान निकाल्नुपर्ने धारणा राखे ।

छलफलमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका प्राथमिकता, काम र आगामी कार्ययोजनाबारे बिफ्रिङ गर्दै ट्रङ्क र डेडिकेटेड लाइनका सम्बन्धमा देखिएको अन्यौंलता समाधान गरिने बताए ।

उनले विद्युत महशुल निर्धारण आयोगसँग आवश्यक परामर्श गरी प्राधिकरण ठोस निर्णय पुग्न चाहेको र त्यसका लागि आवश्यक पहल गर्ने जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *