एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन सुरु

news-details

सरकारले निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री छानबिन गर्न गठित समितिले काम थालेको छ । समिति संयोजक टंकमणि शर्मा दंगालले आइतबार विज्ञप्ति जारी गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्न सरकारले दिएको कार्यादेशअनुसार काम थालिएको जनाएका छन् ।

बहुराष्ट्रिय कम्पनी एनसेलको ८० प्रतिशत शेयर मलेसियन लगानीकर्ता आजियाटा समूहले विदेशमै बिक्री गरेको खबर बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा बैठक गरेका थिए । बैठकलगत्तै सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गत बिहीबारको निर्णयानुसार एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा, प्रचलित नेपाल कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असर लगायतका विषयमा अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन भई कार्यादेश प्राप्त भएको शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्ययन तथा छानविन समितिले आइतबारदेखि नै काम थालेको उनले उल्लेख गरेका छन् । कार्यदेशभित्र रही तोकिएको समयसीमा भित्र समितिले अध्ययन तथा छानविन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने पनि विज्ञप्तिमा छ ।

समितिले सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने भएको छ । साथै कागजात तथा जानकारी प्राप्त गर्न सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघसंस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव लिने भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *