एनसेलको शेयर खरिद बिक्री तत्काल रोक्न सरकारलाई लेखा समितिको निर्देशन

१५ दिनभित्र यथार्थ जानकारी दिन प्राधिकरणलाई अर्थ समितिको निर्देशन
news-details

सार्वजनिक लेखा समितिले दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिद बिक्री यथास्थितिमा तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकले उक्त कम्पनीको शेयरको खरिद बिक्रीको सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले निष्कर्षमा नपुगुञ्जेलका लागि कारोबार यथास्थितिमा रोक्ने निर्णय गरेको सभापति ऋषिकेश पोखरेलले बताए ।

‘हालै भएको भनिएको प्रत्यक्ष वैदेशिक लगानी अन्तर्गतको एनसेलको ८० प्रतिशत शेयरको खरिद बिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृतरूपमा अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएको छ,’ उनले भने, ‘अनुसन्धान निष्कर्षमा नपुगुञ्जेलसम्म शेयर खरिद बिक्री कारोबार सम्बन्धी कार्यलाई यथास्थितिमा राख्न (रोक्न), तथा यस विषयमा यथार्थता पहिचान गर्नका लागि ३० दिनभित्र कार्य सम्पादन गर्नेगरि तत्काल स्वतन्त्र अनुसन्धान गर्न गराउन समितिको यो बैठक नेपाल सरकारलाई निर्देशन दिने निर्णय भएको छ ।’

साथै शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लागनी जोखिमयुक्त रहेको भन्ने भनाइ सम्बन्धमा सरकारको धारणा यथाशीघ्र ४८ घण्टाभित्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिने पनि निर्णय भएको उनले जानकारी दिए ।

१५ दिनभित्र यथार्थ जानकारी दिन प्राधिकरणलाई अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले, एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

बुधवार प्राधिकरणलाई बोलाएर छलफल गरेको समितिले, प्राधिकरणसँगको छलफलपछि समितिले एनसेल खरिदबिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखित रुपमा पेश गर्न निर्देशन दिएको हो ।

‘बुधवारको छलफलका क्रममा उठेका विषय र एनसेलको स्वामित्व खरिदबिक्रीका सन्दर्भमा विस्तृत अध्ययनसहित जानकारी पेश गर्न निर्देशन दिने निर्णय भएको छ,’ छलफलपछि समिति सभापति सन्तोष चालिसेले भने ।

बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेको जानकारी गराएका थिए ।

‘शेयर खरिदबिक्रीबारे जानकारी मागसहित प्राधिकरणले एनसेललाई यही मङ्सिर १५ गते पत्राचार गरेकामा मङ्सिर १९ गते त्यसको जवाफ प्राप्त भएको छ’ अध्यक्ष खनालले भने ‘ उसले अहिले शेयर खरिदबिक्रीसँग सम्बन्धित कागजात सङ्कलनका क्रममा रहेको र नेपालको विद्यमान कानूनी प्रावधान भित्र रहेरै त्यसबारे सम्बन्धित निकायलाई जाकारी दिने तयारी भइरहेको बताएको छ ।’

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *