काठमाडौंको भृकुटीमण्डपमा ‘जाडोको बेला, भृकुटीमण्डपमा जुत्ता मेला’ संचालनमा आएको छ । नेपालका प्रतिष्ठत १० कम्पनीहरुको संयुक्त व्यवस्थापनमा आयोजित मेलामा १५ देखि ५० प्रतिशतसम्म बिशेष छुटको व्यवस्था रहेको जनाइएको छ ।

जाडो महिनाका साथै मंसिर महिनामा हुने विवाहका लागि लक्षित गरेर आयोजना गरिएको मेलामा बच्चादेखि बृद्धसम्मका लागि आधुनिक डिजाइनका जुत्ताचप्पल उपलब्ध रहेका छन् ।

जाडो महिनामा आवश्यक पर्ने हरेक प्रकारका जुत्ताचप्पलका साथै विवाहका लागि चाहिने अत्याधुनिक डिजाइनका पार्टी सुज मेलामा उपलब्ध रहेको मेला आयोजक तथा भेनस सुजका संचालक जीवन श्रेष्ठले जानकारी दिए ।

मेलामा १० वटा ब्राण्डका आधुनिक डिजाइनका झण्डै २ हजार मोडलका जुत्ता चप्पल उपलब्ध छन् ।

मेलामा सुल्याण्ड, शिखर सुज, बोस सुज, रन सुज, आइडियल सुज, वन वल्ड सुज, भेनस सुज, बेम्बो सुज, प्राइड स्वदेशी जुत्ताचप्पल र हिमानी सुजको नयाँ नयाँ जुत्ताचप्पलको सहभागिता रहेको छ ।

महिला, पुरुष, बालबालिकाका लगायत सबैका लागि उपयुक्त जुत्ता चप्पल मेलामा उपलब्ध रहेको आयोजकको भनाई छ । ‘जाडोको बेला भृकुटीमण्डपमा घाम ताप्दै एकै ठाउँमा धेरै प्रकारका जुत्ता चप्पल उपलब्ध हुँदा ग्राहकले आफ्नो आवश्यकता अनुसार खरिद गर्न सक्नुहुन्छ,’ आयोजक श्रेष्ठको भनाई छ ।

‘जाडोको बेला, भृकुटीमण्डपमा जुत्ता मेला’ शुरु, १० कम्पनीका जुत्ताचप्पलमा ५० प्रतिशतसम्म छुट

विगतमा भृकुटीमण्डपमा मेला आयोजना गरेर उपभोक्ताबाट आफूहरुले सकारात्मक प्रतिक्रिया प्राप्त गरेपछि अहिले जाडो तथा विवाह लक्षित मेला आयोजना गरेको अर्का आयोजक गंगा श्रेष्ठले बताए । ‘राम्रा राम्रा क्वालिटीका जुत्ता चप्पल विशेष छुटमा उपलब्ध गराएर ग्राहकलाई खुसी बनाउन सफल छौं,’ उनले भने ।

स्वदेशी उत्पादनका जुत्ताचप्पल लगाउने वानी बसाल्न र नेपाली उत्पादनलाई प्रवद्धन गर्नका लागि यो मेला सार्थक हुने आयोजकको दावी छ ।