रामेछापमा उडान भर्न मान्दैनन् निजी विमान कम्पनी, मन्थली विमानस्थल सुनसान

news-details

चार्टर उडान मार्फत पर्यटक मात्र बोक्न पल्किएका उडान कम्पनीले नियमित उडान भर्न नमानेपछि रामेछापवासीले हवाई यात्रा गर्न नपाएको वर्षौँ भएको छ ।

काठमाडौंबाट रामेछाप उडान भर्ने सहमति गरेका कुनै पनि कम्पनीले मन्थलीमा विमान उडाएका छैन । जसले गर्दा रामेछापको मन्थली विमानस्थल अहिले सुनसान छ ।

विगतमा सडक यातायात नहुँदा रामेछापबाट यातायातको एकमात्र साधन हवाई सेवा थियो । त्यतिबेला तत्कालीन नेपाल वायु सेवा निगमका जहाजले रामेछापमा नियमित उडान गर्दथे । बिचमा केही निजी विमान कम्पनीले पनि सेवा दिएका थिए । रामेछापबाट काठमाडौंसम्मको सडक मार्ग बनेपछि यात्री कम भएका भन्दै विमान कम्पनीहरूले सेवा बन्द गरे । त्यसको केही वर्ष विमानस्थल पिच गर्न सेवा बन्द गरियो ।

विमानस्थलको स्तर वृद्धि भएपछि पर्यटकीय सिजनमा त्रिभुवन विमानस्थलमा चाप कम गर्न यो विमानस्थलबाट सोलु पर्यटक लैजाने व्यवस्था गरियो । ट्राभल एजेन्सीहरूले काठमाडौंबाट सोलु जाने विदेशी पर्यटकलाई मन्थलीसम्म सडक मार्गबाट ल्याएर मन्थलीबाट सोलु र ल्याउने र लैजाने काम गर्दै आएका छन् । ती जहाज सबैले चार्टर उडान गर्ने भएकाले नियमित भाडामा यात्री बोक्दैनन् ।

रामेछापका प्रमुख जिल्ला अधिकारी, राजनीतिक दलका नेताहरू, जनप्रतिनिधि सहित सर्व पक्षीय बैठक बसेर गएको जेठको तेस्रो हप्तादेखि साप्ताहिक रूपमा नियमित उडान गर्नको लागि अनुरोध गरेका र त्यसमा उडान कम्पनी सहमत भएको भए पनि हालसम्म उडान भरेका छैनन् । हवाई सेवा नहुँदा बिरामी र अशक्त पनि सडक मार्गबाट नै काठमाडौं आउने जाने गर्दछन् ।

मन्थलीमा उडानका लागि तारा, सीता र समिट एयरले जुन १८ तारिखदेखि उडान भर्ने गरी तालिका अनुमोदन गरेका भए पनि हालसम्म मन्थलीमा सेवा सञ्चालन गरेका छैनन् । यस विषयमा आफूले पनि बारम्बार विमान कम्पनीमा अनुरोध गरेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए ।

विमान कम्पनीले विमानमा यात्रु नभए त्यसको क्षतिपूर्ति स्थानीय सरकारले तिर्नुपर्ने सम्मका गैरजिम्मेवारपूर्ण कुरा गरेका श्रेष्ठले बताए । ‘चार्टरमा उडाउने, नियमित उडान नगर्ने, नाफाको कुरा मात्र गर्ने, नागरिक उत्तरदायित्वको कुरा पनि त हुन्छ होला नि’, उनले भने ।

रामेछापमा नियमित उडान गर्न नमान्ने ती कम्पनीले पर्यटकको सिजनमा रामेछापबाट लुक्लाको लागि दैनिक ५० भन्दा बढी उडान गर्ने गर्दछन् । नाफा कमाउन रामेछापको विमानस्थल प्रयोग गर्ने कम्पनीले रामेछापवासीलाई सेवा दिन भने अटेर गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *