देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवा विद्युतीय प्रणालीबाट सञ्चालन

news-details

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री र सहज बनाउन विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको छ ।

बुधबार मन्त्रालयमा आयोजित सवारी चालक अनुमतिपत्रको अनलाईन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाह प्रणाली https:applydlnew.dotm.gov.np सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन ।

उनले भने ‘ साविकमा सवारी चालक अनुमतिपत्रका लागि अनलाईन आवेदनको व्यवस्था भए पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सेवाग्राहीले लिखित तथा प्रयोगात्मक परीक्षा स्थल बाहेक यातायात कार्यालयमा नै धेरै पटक लाइन बस्नुपर्ने गरेको अवस्था विद्यमान छ। यसले गर्दा सेवाग्राहीले धेरै समय र मेहनत खर्च गर्नुपरेको छ भने यातायात कार्यालयमा समेत धेरै कर्मचारी खटाउनुपर्ने, कर्मचारी विदामा बस्दा सेवा प्रभावित हुने जस्ता समस्या रहेका छन्। सवारी चालक अनुमतिपत्र सम्बन्धी काम धेरै शाखा तथा फाँटबाट हुँदा अभिलेख व्यवस्थापन समेत त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । ’

यो प्रणाली पूर्ण रुपमा लागू भए पश्चात सेवाग्राहीहरु लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८० असार २० गते देखि परीक्षणको रुपमा लागू गरिएको छ । आगामी एक महिना भित्रमा यसलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयहरुमा लागू गर्ने लक्ष्य लिइएको छ । यसबाट नेपाल सरकारले आ. व. २०८०/०८१ को नीति तथा कार्यक्रममा व्यक्त गरेको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने छ ।

अनलाईन राजश्व भुक्तानी सुविधा सहितको विधुतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट “विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०” जारी हुदैछ । यसले गर्दा विधुतीय सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्नेछ ।

विधुतीय सेवा प्रवाह प्रणालीमा नयाँ आवेदक, वर्ग थप गर्न चाहने आवेदक, नवीकरण गर्न चाहने आवेदक, पहिले आवेदन गरेका तर परीक्षामा सफल हुन नसकेका आवेदकका लागि अलग अलग पोर्टलहरु रहेका छन्। आवेदक प्रणालीलाई गृह मन्त्रालयको नागरिकता व्यवस्थापन सूचना प्रणाली र यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीसंग आवद्ध गरिएकाले नयाँ आवेदकले भर्ने आवेदन फाराममा नागरिकता व्यवस्थापन सूचना प्रणालीबाट र वर्ग थप तथा नवीकरणका लागि आवेदन पेश गर्दा यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीबाट विवरण स्वतः प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *