भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्छ : महामन्त्री शर्मा

news-details

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने बताएका छन ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले भ्रष्टाचारविरुद्ध कडाइ पूर्वक नीति लिनुपर्ने बताएका हुन । ‘यहीँनेर भुटानी शरणार्थीको सन्दर्भको फाइल खोलिएको छ । यसलाई निष्कर्षमा पुर्याउनुपर्छ भन्ने अपिल र आग्रह गर्न चाहन्छु’ उनले भने, ‘भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन फायर खोल्नुपर्छ राज्यले ।’

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए । यसक्रममा उनले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताए ।

“सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ”, उनले भने, “ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।”

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए ।

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उनले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने बताए ।

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिए ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गरेको कर प्रस्तावबाहेक बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल जारी छ । राष्ट्रिसभामा अर्थमन्त्रीले जवाफ दिनुपर्ने भएकाले आधा घन्टाका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *