श्री एयरलाइन्सको उडान फुकुवा, आजदेखि नियमित उडान

news-details

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सको उडान फुकुवा गरेको छ ।

प्राधिकरणका प्राविधिकबाट उक्त एयरलाइन्सको उडानमा रहेका जहाजको शुक्रबार प्राविधिक सुरक्षा जाँचपछि उडान फुकुवा गर्ने निर्णय गरेको हो । प्राधिकरणले शुक्रबार बिहान श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको थियो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले दिएका सुझावको कार्यान्वयन गर्ने गरी एयरलाइन्सको उडान फुकुवा गरिएको छ । ‘श्री एयरलाइन्सको उडान फुकुवा भयो, तर एयरलाइन्सले सेफ्टी म्यानेजमेन्ट सिस्टम लागू गर्नुपर्छ र प्राविधिक जाँचपछि देखिएका विषय र प्राधिकरणका सुझाव पालना गर्नुपर्ने सर्तमा उडान फुकुवा गरिएको हो’, उनले भने ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले प्राधिकरणबाट पुनःउडान अनुमति पाएसँगै आजदेखि नियमित उडान सञ्चालन गरिने बताए । व्यवस्थापक मानन्धरका अनुसार प्राधिकरणको विज्ञ टोलीले उडानमा रहेका श्रीका सबै जहाजको प्राविधिक जाँच, इन्जिनियरिङ अपरेसन, सुरक्षा तथा कम्पनीको वित्तीय स्थिति र प्रशासनिक क्षमतासमेतको अध्ययन गरेको थियो ।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत देखिएपछि उक्त जहाजलाई पुनः त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो । श्री एयरलाइन्सका साना–ठूला गरी आठ वटा जहाज छन् । तीमध्ये चार वटा मात्रै सञ्चालनमा छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *