बैंकको ब्याजदर बृद्धिले व्यवसायीका समस्या दिनदिनै थपिदै छन : अशोक श्रेष्ठ

news-details

पछिल्लो समय नेपाली व्यवसायीहरुका समस्या दिनप्रतिदिन थपिदै जाँदा व्यापार व्यवसायनै चौपट हुने खतरा बढेको व्यवसायीहरुले बताएका छन् ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोकुमार श्रेष्ठले नेपालमा नै बसेर व्यवसाय गर्नेहरुमा बढ्दै गएको निराशाले थप जटिल अवस्था आउन सक्ने बताएका छन् । रोजगार मञ्चसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले भने– ‘बैंकको चर्को ब्याजदरका कारण व्यापारीका समस्याहरु दिनप्रतिदिन थपिदै गईरहेको अवस्था छ, ९ प्रतिशत भएको ब्याजदर अहिले बैंकहरुले बढाएर १६ प्रतिशतसम्म बनाउनाले व्यापारीहरुमा निराशा छाएको छ । केहि व्यापारीहरुले त बैंककै ब्याजदर तिर्न नसक्दा आत्मदाहसम्म गरिसकेका छन् ।’

इलामका प्रेम आचार्य झै थुप्रै व्यवसायीहरु आत्मदाह गर्ने अवस्थामा पुग्नुको मुख्य कारण नै बैंकको चर्को ब्याजदर थेग्न नसक्नु रहेको अध्यक्ष श्रेष्ठको बुझाई छ । लामो समयदेखि व्यपारी व्यवसायीहरुले आफ्ना समस्या सरकार समक्ष ध्यानाकर्षण गराउँदा पनि समाधान हुन नसक्नु दुःखको विषय बनेको श्रेष्ठ बताउँछन् । अध्यक्ष श्रेष्ठ भन्छन्–‘अहिले व्यापारी व्यवसायीहरु आफ्ना मागहरु सरकारले संबोधन नगरिदिदा र समस्या यथावत् नै रहदा सडकमा आन्दोलन शुरु गर्न बाध्य भएका छन ।’

बैंकको ब्याजदर अध्याधिक बढ्नाले व्यवसायीहरु ठूलो मारमा पर्नुपरेको बताउँदै संघका अध्यक्ष श्रेष्ठले बैंकले अस्वभाविकरुपमा बढाएको ब्याजदर तत्काल घटाएर ९ प्रतिशत बनाउन सरकार समक्ष आग्रह गरेका छन् ।

व्यापारीहरुले तिरेको राजश्वले नै देशको अर्थतन्त्रमा टेवा पुगेको बताउँदै श्रेष्ठ बैंकको ब्याजदर घटेमा मात्रै व्यापारीहरुलाई पनि राजश्व तिर्न सहज हुने धारणा राख्दछन् । उनी भन्छन् –‘अहिले बजारमा पैसा नभएको कारण ८० प्रतिशत व्यापार घटिसकेको अवस्था छ । घरबहाललगायत सारा कुराहरुले असहज बनाईरहेको स्थिति छ । त्यसैले राज्यको ध्यान ब्याजदर कसरी घटाउने भन्नेतिर जानुपर्छ ।’

‘राष्ट्र बैंक, नेपाल सरकार, अर्थ मन्त्रालय लगायत सरोकारित निकायले यो कुरामा विशेष ध्यान दिनुपर्छ । नेपालको माटो सुहाउँदो निति नियमहरु ल्याउनुपर्छ । युरोप अमेरिकामा ब्याज बढायो भनेर यहाँ बढाउनु हुँदैन । उनीहरुले बढाउँदा त्यही अनुसारको सुविधाहरु दिएका छन । कि यहाँ पनि त्यस्तो सुविधा दिन सक्नुपर्छ । त्यतातिर राज्यको ध्यान जावोस् भन्न चाहान्छु’ अध्यक्ष श्रेष्ठले बताए ।

प्रेमप्रसाद आचार्यको आत्मदाहले व्यापार व्यवसायको क्षेत्रमा ठूलो धक्का मात्रै नपुगेर आत्मदाह गर्ने लहर सुरु भएको बताउँदै श्रेष्ठले आउँदा दिनहरुमा यस्ता घटनाहरु नघटोस् भन्नका लागि सरकारले व्यवसायीका मागहरु पुरा गरिदिनुपर्ने बताउँछन् । श्रेष्ठ भन्छन् –‘व्यवसायीलाई करले होइन रहरले कर तिर्ने वातावरण सरकारले बनाई दिनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले व्यसायीहरुको व्यापार व्यवसाय धराशायी बन्दै गएको हुनाले राज्यले छिटोभन्दा छिटो यही महिनाभित्रै बैंकको ब्याजदरलाई ९ प्रतिशतमा झारेर बैंकलाई मात्र नाफा हुने गरेर होइन, सबै व्यापारी–व्यवसायी, नेपाल सरकार र आम जनातालाई समेत फाइदा हुने निति लागू गर्न सरकार समक्ष आग्रह गरेका छन् ।

लामो समयको कोरोना महामारी, नाका बन्द, बाढी पहिरो लगायतका समस्याहरुका कारण थला परेको व्यापारिक क्षेत्र भर्खरै माथि उठ्नै लाग्दा नेपाल सरकारको निति नियमका कारण अहिले व्यापारी–व्यवसायीहरु ठूलो मर्कामा परिरहेको अवस्था छ । अहिले उनीहरुको प्रमुख समस्या भनेकै बैंकको चर्को ब्याजदर हो । त्यसकारण बेलैमा व्यापारी–व्यवसायीहरुका समस्याहरु समाधान गर्न सरकार नलागेमा प्रेमप्रसाद आचार्यको जस्तो घटना नबढलान भन्न सकिदैन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *