ठमेल रेमिट भयो एनपीएस प्रणालीमा आबद्ध, अब अमेरिकाबाट पठाएको रेमिट्यान्स तत्कालै नेपालमा पाइने

news-details

नेपाल राष्ट्र बैंकबाट लाइसेन्सप्राप्त ठमेल रेमिट प्रालि नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नयाँ प्राविधिक सदस्यको रूपमा जोडिएको छ । अब ठमेल रेमिटले ‘तु रेमिट्यान्स सेवा’का लागि आन्तरिक च्यानलको रूपमा एनसीएचएलको नेसनल पेमेन्ट स्वीच (एनपीएस) प्रयोग गर्ने भएको छ ।

एनसीएचएलसँगको यस आबद्धतापछि संयुक्त राज्य अमेरिका (यूएसए) बाट पठाएको पैसा अब केही सेकेन्डमै नेपालमा प्राप्त गर्न सकिने भएको छ । नेसनल पेमेन्ट स्वीचसँगको सहकार्यबाट उत्साहित ठमेल रेमिटका सह-संस्थापक बाल के जोशीले भने, ‘यस सहकार्यले ठमेल रेमिटलाई अमेरिकादेखि नेपालसम्मको मार्गमा गैर-कार्डमा आधारित, बैंक-टु-बैंक कारोबार तत्काल सेटलमेन्ट गर्ने पहिलो डिजिटल मनी ट्रान्सफर कम्पनी बनाउँछ ।’

उनले थपे, ‘सामान्यतया, यस प्रकारको रियल टाइम ट्रान्सफर सुविधामा महँगो शुल्क लाग्ने डेबिट र क्रेडिट कार्ड नेटवर्कमा मात्रै उपलब्ध छन् । अमेरिकामा भएका नेपालीहरूलाई अब अझै छिटो र चुस्त रूपमा नेपालका जुनसुकै कुनाकाप्चामा पैसा पठाउने सेवा प्रदान गर्न सक्नेछौँ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

जोशीका अनुसार अमेरिकाको नेसनल अटोमेटेड क्लियरिङ हाउस एसोसिएसन अप्रत्यक्ष रूपमै भए पनि नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिएको यो पहिलोपटक हो । यो आबद्धता नेपालमा डिजिटल रेमिट्यान्सका लागि एउटा महत्त्वपूर्ण कदम हो ।

अब ठमेल रेमिटले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएसअन्तर्गतका विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गरी रेमिटले स्वचालित रूपमा भुक्तानी कारोबारहरू गर्न सक्नेछ ।

यसअन्तर्गत ठमेल रेमिटले एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीहरूमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू आफ्ना ग्राहकका बैंक खाताहरूबीच सोझै गर्न सक्नेछ । साथै, यस सहकार्यले ठमेल रेमिटलाई प्रत्यक्ष बैंक खातामा आधारित रेमिट्यान्सका लागि ५९ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूको फराकिलो नेटवर्कमा पनि पहुँच प्रदान गरेको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको एनपीआई, नेसनल पेमेन्ट स्वीच (एनपीएस)को अंगको रूपमा रहेको छ । यसमार्फत रियल टाइम भुक्तानी (आरपीएस/कनेक्ट आईपीएस) तथा नन–रियल टाइम भुक्तानी (एनसीएचएल–आईपीएस) का विभिन्न भुक्तानी उपकरणमार्फत गरिने व्यवस्था छ ।

यसमा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू र ७३ भन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । हाल १३ वटा रेमिट्यान्स कम्पनीहरूले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरूमार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरूको प्रयोग गरी रेमिट्यान्ससम्बन्धी कारोबारहरू गर्दै आएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *