ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन चेम्बर अफ कमर्शको ध्यानाकर्षण

news-details

नेपाल चेम्बर अफ कमर्शले बढ्दो ब्याजदर नियन्त्रण गरी व्यावसायिक वातावरण बनाउन नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराएको छ ।

निक्षेपमै उच्चदरको ब्याजदर कायम हुँदा यसको असर कर्जाको ब्याजदरमा समेत पर्न थालेको चेम्बरको ठहर छ । चेम्बरले नियमनकारी निकाय राष्ट्रबैंकसमक्ष हाल कायम स्प्रेड दर, एवं बैंकहरूको आधार समय सान्र्दभिक व्यवस्थापन गर्न पनि आग्रह गरेको छ । चेम्बरले राष्ट्र बैंकलाई बिभिन्न ९ बुँदामा ध्यानाकर्षण गराएको हो ।

चेम्बरद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ, ‘बढ्दो ब्याजदरले मुलुकको व्यावसायिक गतिविधि नै ठप्प हुने अवस्था सिर्जना भएको छ । निक्षेपमै उच्चदरको ब्याजदर कायम भयो भने उद्योग व्यवसायमा हुने लगानी निरुत्साही हुने र यसले वित्तिय असन्तुलनको जोखिम बढाउँछ, ।’

कर्जा प्रवाह र नविकरण गर्दा बैंक एवं वित्तिय संस्थाले लिने बिभिन्न प्रकारको असान्र्दभिक सेवा शुल्कलाई हटाउन समेत चेम्बरले माग गरेको छ । यस्तै उच्च दरको आर्थिक वृद्धिको लक्ष्य पुरा गर्नका लागि एकल दरको ब्याज कायम गर्न समेत चेम्बरले आग्रह गरेको छ ।

बैंकहरूको आधार दरलाई यथाशक्य न्यूनतम बिन्दुमा कायम गरी बिगतका वर्षहरूमा जस्तो अधिकतम २ प्रतिशत प्रिमियममा थप हुने व्यवस्था गर्न पनि चेम्बरले राष्ट्रबैंकको ध्यानाकर्षण गराएको छ ।

यस्तै चेम्बरले परियोजना, पूर्वाधार तथा पर्यटन क्षेत्रमा प्रवाह गरिएको कर्जामा निश्चित अवधीसम्म स्थिर ब्याजदर कायम गर्न पनि माग गरेको छ । निक्षेप लिएर कर्जा प्रवाह गर्दा सोही महिनामा ब्याजदर वृद्धि नगरी ३ महिनापछि मात्रै कायम गर्ने व्यवस्थालाई यथावत राख्ने व्यवस्था मिलाउन पनि चेम्बरले राष्ट्रबैंकसंग माग गरेको छ ।

उच्च दरको आर्थिक वृद्धिका लागि एकल अंकको ब्याजदर कायम हुनुपर्ने भन्दै चेम्बरले तरलताको समुचित व्यवस्थापनका लागि पुँजिगत खर्च समयमै गर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *