काठमाडौं / ‘रक्तदान जिवनदान, रक्तदान महादान’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै राष्ट्रिय व्यापार संघको आयोजना तथा विभूति बहुउद्देशीय सहकारी संस्था लिमिटेडको सह–आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

त्यस्तैै राष्ट्रिय व्यापार संघका अध्यक्ष सरोजकुमार श्रेष्ठले संस्थाले गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षमा कम्तीमा पनि २ पटक रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेको बताउँदै व्यवसायीहरु सामाजिक कार्यहरु गर्नमा पनि अग्रसर छन् भन्ने सन्देश दिनका लागि रक्तदान लगायत विविध सामाजिक कार्यहरु बेला–बेलामा आयोजना गर्ने गरेको बताए ।
रक्तदान भनेको सबैभन्दा ठुलो दान हुने भएको हुँदा बेला बेलामा सबैलाई रक्तदान गर्न अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले भुकम्प, बाढी, पहिरो जस्ता दैवीप्रकोपमा संस्थाले धेरै राहतका कामहरु गरेको र आगामी दिनहरुमा पनि रक्तदान लगायत सामाजिक हितका कामहरु निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंका विभिन्न अस्पतालहरुमा रगत अभावका कारणले बिरामीहरु छट्पटिनुपर्ने अवस्था भएका कारण संघले रक्तदान कार्यक्रमको आयोजना गर्दे आएको बताउँदै संघका कोषाध्यक्ष केदार न्यौपानेले रक्तदान गर्न योग्य सबैले ३–३ महिनामा रक्तदान गरी कसैको जिवन बचाउन आग्रह गरे । साथै संघले अस्पतालमै गएर बिरामीको उपचारका लागि आर्थिक सहयोग, सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरो जाँदा खाद्यान्न–लत्ताकपडा वितरण, सरसफाई, बजार व्यवस्थापन लगायतको थुप्रै सामाजिक कामहरु गर्दै आईरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिने न्यौपानेले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा संस्थाका पुर्वअध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले संस्थाले स्थापनाकालदेखि नै ३–३ महिनामा रक्तदान कार्यक्रम गर्दै आईरहेको बताउँदै कोभिडको समयमा यसलाई निरन्तरता दिन नसके पनि अबका दिनहरुमा निरन्तरता दिदै जाने जानकारी दिए । रगत कुनै स्रोतबाट नपाउने चिज भएको हुनाले एक मानव शरिरबाट अर्को मानव शरिर बचाउँनका लागि रक्तदान गर्न आवश्यक रहेको बताउँदै पुर्वअध्यक्ष क्षेत्रीले रक्तदान गरी जिवनदान गर्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै विभूति बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठले संस्थाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी विगतदेखि नै रक्तदान कार्यक्रम गदै धेरै मानिसहरुको ज्यान बचाउन पाएकोमा आफूलाई गौरव महशुस भएको बताए । रक्तदान गर्दा कुनै पनि समस्या नहुने र कसैको जिवन बचाउँन मद्दत पुग्ने भएको भन्दै अध्यक्ष श्रेष्ठले सबैलाई रक्तदान गरेर जिवनदान गर्न आह्वान गरे ।

उक्त कार्यक्रममा ४८ जना पुरुष र ४ जना महिला गरि जम्मा ५२ जनाले रक्तदान गरेका थिए । राष्ट्रिय व्यापार संघ व्यवसायीहरुको हक, हितमा मात्र नभएर सामाजिक हितमा पनि स्थापनाकालदेखि नै निरन्तर लाग्दै आएको संस्था हो । बाढीपहिरोजस्ता दैवी प्रकोप होस् या असहाय, गरिबहरुको दुःख कष्टमा होस् थुप्रै सामाजिक हितका कामहरु गर्दै आईरहेको छ । आगामी दिनहरुमा पनि व्यवसायीहरुका हितलाई समेट्दै सामाजिक हितमा कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता संघले जनाएको छ ।





















