चालु आव सकिन सात दिन बाँकी : राजस्व सं‌कलन १० खर्ब ७० करोड

news-details

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुनसकेको छैन।

सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कूल १० खर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबर राजस्व संकलन भएको छ।

चालु आव सकिन अब एक साता बाँकी छ। सरकारले चालु आवमा कूल ११ खर्ब ८० अर्ब ६० करोड चार लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। कार्यालयका अनुसार हालसम्म कूल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व संकलन भएको छ।

त्यसमा कर राजस्व कूल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो। चालु आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ बराबर कर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै संकलन हुने सरकारको विश्वास छ।

त्यस्तै गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख रुपैयाँ बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख रुपैयाँ बराबर संकलन भएको छ। यो कूल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो।

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ बराबर प्राप्त भएको छ। कूल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो। सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) शनिबारसम्म कूल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ।

त्यस्तै सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४.३३ बराबर खर्च भएको छ। त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ। चालु आवका कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ। त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ। त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ३८ अर्ब २० लाख रुपैयाँ बराबर खर्च भएको छ। यो भनेको कूल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो।

यस्तै पूँजीगत खर्च कूल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ। विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पूँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ। सरकारले ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बराबरको पूँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख रुपैयाँ बराबर खर्च भएको छ।

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ। चालु आवमा एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ। त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ। कूल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड रुपैयाँ अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ। चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ संकलन हुने अनुमान छ। जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ परिचालन हुने संशोधित अनुमान छ। चालु आवमा दुई खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन हुने अवस्था छ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया