विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ : अर्थमन्त्री शर्मा

news-details

अर्थमन्त्री जनार्दन शर्माले विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको बताएका छन । आइएमई लिमिटेडको २२ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन ।

अर्थमन्त्री शर्माले वैदेशिक मुद्रा प्राप्तिमा रेमिट कम्पनीको भूमिका उल्लेखनीय भएको बताए । “विप्रेषणले ग्रामीण क्षेत्रको खर्च गर्ने क्षमता वृद्धि गरेको छ, यसले गरिबी निवारण गर्ने सरकारको पहलकदमीमा पनि धेरै मद्दत मिलेको छ” उनले भने- “विदेशमा रहेका नेपालीको कमाई सुरक्षित रुपमा नेपाल पठाउने माध्यम रेमिट कम्पनी बनिरहेका छन्।”

विप्रेषण वैधानिक प्रणालीमार्फत भित्र्याउन सरकार लागिपरेको सन्दर्भ जोड्दै उनले अवैधानिक गतिविधिलाई नियन्त्रण गर्न आइएमई जस्ता संस्थाले विशेष ध्यान दिनुपर्ने बताए । मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा समेटेको विप्रेषणलाई व्यवस्थित बनाउन आइएमईले महत्वपूर्ण योगदान दिएको अर्थमन्त्री शर्माको भनाइ छ।

उनले भने, “हुन्डी कारोबारलाई हतोत्साही बनाउँदै यस्ता संस्थाले विदेशमा श्रम बेचेर कमाएको पैसा स्वदेशमा पठाउन महत्वपूर्ण भूमिका खेलेको छ, आइएमई जस्ता संस्था अझ सशक्त हुनुपर्छ।”

अझै पनि विदेशबाट अनौपचारिक माध्यमबाट पैसा आइरहेको अवस्थामा त्यसको रोकथाममा यस्ता संस्थाले आफ्ना सेवा विस्तारका साथै प्रविधिको उच्चतम् प्रयोग गरी औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन पहल गर्नुपर्नेमा मन्त्री शर्माको भनाइ छ।

विप्रेषणको ठूलो रकम उपभोगमा खर्च भइरहेको र आउँदा दिनमा ठूला पूर्वाधारमा लगानी केन्द्रित गर्नुपर्ने खाँचो रहेको उनले बताए । आर्थिक वर्ष ०७९र८० को बजेटले पनि रेमिट्यान्सका माध्यमबाट वैदेशिक मुद्रा भित्र्याउने धेरै विषयलाई सम्बोधन गरेको उनले जानकारी दिए ।

“बजेटले रेमिट्यान्सबाट आएको पैसा मात्रै ल्याउने उद्देश्य राखेको छैन, अहिले सामान्य प्रणालीमा आइरहेको वैदेशिक मुद्रालाई एक कदम अघि बढेर विशेषरुपमा विदेशी मुद्रा भित्र्याउने भनिएको छ”, उनले भने, “यो भनेको हामीसँग भएको स्रोत, साधनको उत्पादन वृद्धि र प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने र विदेशी मुद्राको आर्जन गर्ने भन्ने हो।”

श्रम बेचेर पैसा कमाइरहेको परिस्थितिलाई परिवर्तन गर्ने गरी आगामी आबको बजेटले उत्पादन बेचेर विदेशी मुद्रा आर्जन गर्ने लक्ष्य राखेको उनले बताए । उनले मुलुकको अर्थतन्त्रमा हाल देखिएको तरलता व्यवस्थापनको समस्या समाधान गर्न आगामी मौद्रिक नीतिले नीतिगत सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

उनले विभिन्न क्षेत्रमा लगानी भित्र्याइ देशभित्र उपलब्ध पूँजीको परिचालन गरी तरलता सहज बनाउने दृढता व्यक्त गरे । मन्त्री शर्माले कृषि, उद्योग तथा सेवा क्षेत्रको प्रवद्धन गरी स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने नीति सरकारले राखेको जनाउँदै यस्ता क्षेत्रको विकासमा सरकार गम्भीर रहेको बताए । उनले मुलुकको आर्थिक विकास तथा समृद्धिमा उत्पादनका साधनको प्रयोग महत्वपूर्ण हुनेहुँदा यस्ता साधनको उच्चतम प्रयोगमा जोड दिए ।

मुलुक बाहिरको कमाई औपचारिक माध्यमबाट भित्र्याउन सरकारले नीतिगत क्षेत्रमा समयसापेक्ष सुधार गर्ने जनाउँदै उनले मुलुकमा लगानी भित्र्याउनका साथै विदेशमा श्रम गरिरहेकाका लागि प्राथमिक शेयर निश्कासनमा कोटा छुट्याउनेदेखि विदेशमा बस्ने नेपालीलाई डलर खाता खोल्ने नीति कार्यान्वयनमा ल्याइएको बताए ।

कार्यक्रममा मुख्य सचिव शङ्करदास बैरागीले औपचारिक माध्यमबाट विप्रेषण भित्र्याउन आइएमई जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको जनाउँदै यसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए ।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले आइएमई लिमिटेडले विदेशी मुद्रा भित्र्याउने संस्कृतिमा रुपान्तरण गरेको बताए । उनले गास, बास र कपासका लागि रेमिट्यान्सको रकम बढी खपत भइरहेकामा आउँदा दिनमा पूँजी निर्माणमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

“रेमिट्यान्सको पैसा व्यक्तिगत खपतमा बढी प्रयोग हुने गरेको देखिन्छ, पहिले त गास, बास र कपासको व्यवस्थापन नै गर्ने हो”, उनले भने, “आउँदा दिनमा भने रेमिट्यान्सको पैसा राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता छ।”

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आजको अवस्थासम्म आउन निकै संघर्ष गर्नु परेको बताए । ‘सुरुमा एउटा कोठामा ३–४ जना बस्ने, त्यही सिंगल खाट, किचन लगायत सबै कुरा त्यहि हुन्थ्यो र त्यसैबाट आइएमईको सुरुवात गरिएको थियो’ अध्यक्ष ढकालले सुनाए । ‘त्यसरी एउटा कोठाबाट सुरुवात भएको संस्थाले ४० हजारलाई रोजगारी दिने कुरा निजी क्षेत्रका लागि यो भन्दा ठूलो कुरा के हुन्छ रु’ ढकालले भने ।

कामको सुरुवात गर्दा नजिकका आफन्तले डुब्नेको पो हो कि भनेर समेत शुभेक्षा प्रकट गरेको सुनाउँदै उनले भने मासिक २० हजार डलर भित्र्याउने लक्ष्यका साथ कामको सुरुवात गरिएको उनले सुनाए । अहिले त्यसमा सफलता पनि प्राप्त भएको ढकालको भनाई छ । यो सफलताको पछाडि सम्पूर्ण टिमको महत्वपूर्ण भुमिका रहेको उनको भनाइ थियो । टिम वर्क बिना कुनै पनि कार्य सफल नहुने उनको तर्फ थियो ।

अहिले आइएमई ग्रुपले गैरआबासिए नेपाली संघसँग सहकार्य गरेर २७ मेगावाटको जलविद्यु आयोजना निर्माण गर्नेदेखि चन्द्रागिरी हिल्स स्थापना गर्न सफल भएको ढकालले बताए । अहिले आयएमईबाट करिब २० खर्बको हाराहारीमा रकम नेपाल भित्रिएको उनले बताए । साथै उत्पादनशील क्षेत्रमा लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्ने तर्फ पनि काम गर्ने अध्यक्ष ढकालले प्रतिवद्धता व्यक्त गरे । अझ पनि देशको विकासका लागि सरकारसँग सहकार्य गर्नका लागि तयार रहेको पनि उनले सुनाए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *