फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि

news-details

नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ ।

खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ ।

त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ । सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो ।

निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *