अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाले दिए राजीनामा (विदाइ मन्तव्यको भिडियोसहित)

news-details

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा बोलेर सिधै बालुवाटार पुगेका खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामापत्र बुझाएका हुन् ।

सरकारका प्रवक्ता र सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका खतिवडाले मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकमा नै राजीनामा दिने जानकारी गराएका थिए । शनिबार मन्त्रालयमा आयोजित एक समारोहमा अढाई वर्ष अर्थमन्त्री र ६ महिना सञ्चार मन्त्रालयको जिम्मेवारीमा रहेर गरेका कामको विवरण प्रस्तुत गरेलगत्तै उनले राजिनामा दिएका हुन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाको एकमात्र रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेपछि डा खतिवडा शनिबारदेखि स्वतः पदमुक्त हुँदै थिए ।

खतिवडा पहिलोपटक २०७४ साल चैत २ गते अर्थमन्त्री नियुक्त भएका थिए । राष्ट्रिय सभामा गोलाप्रथाबाट दुई वर्षे कार्यकाल निश्चित गरेका उनको पदावधि सकिएकै दिन २०७६ साल फागुन २० गते राजीनामा दिएपछि त्यसको भोलिपल्ट पुनः दोस्रो कार्यकालका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

खतिवडाले मन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामापछि २०७६ साल फागुन ११ गतेदेखि सरकारको प्रवक्तासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको थप जिम्मेवारी पनि पाएका थिए ।

संविधान बमोजिम संघीय सांसद नभएको व्यक्ति ६ महिनामात्रै मन्त्री हुन पाउँछ । त्यसपछि संघीय संसदको सदस्य नियुक्त हुन नसकेको अवस्थामा स्वतः पदमुक्त हुने व्यवस्था छ । लामो रस्साकस्सीपछि पार्टीले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने भएपछि तत्कालका लागि डा खतिवडाको सत्तायात्रा रोकिएको हो ।

पत्रकार माझ बिदा भएको घोषणा गर्दै खतिवडा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *