नेपाल टेलिकमको वेबसाइट परिमार्जन, यी सेवाहरू लिन सकिने

news-details

नेपाल टेलिकमले आफ्नो अफिसियल वेबसाइटलाई परिमार्जन गरेको छ ।

थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाउनका लागि टेलिकमले वेबसाइट परिमार्जन गरेको बताएको छ । परिमार्जनसँगै उक्त वेबसाइटमा विभिन्न जानकारी तथा सुविधाहरू समावेश गरिएको टेलिकमको दाबी छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गरी टेलिकमले दिएको जानकारी अनुसार अब वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरीद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरीद गर्न पनि सकिने टेलिकमको भनाइ छ ।

त्यसैगरी आफूले खरीद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध ब्यालेन्सको बारेमासमेत जानकारी लिन सकिने छ । रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर पनि कम्पनीका विभिन्न सेवाहरूमा अनलाइन रिचार्ज वेबसाइटबाटै गर्न सकिने बताइएको छ ।

नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाइसी फारमसमेत वेबसाइटबाटै भर्ने व्यवस्था मिलाइएको छ । कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड्स एन्ड फेमिली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्युम एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टू द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट यूजर ग्रुप जस्ता सेवाहरूको बारेमा जानकारी पाइने छ ।

कम्पनीद्वारा उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्यान्डलाइन तथा अन्य विभिन्न सेवाहरूका थप विशेषताका बारेमा यसबाट प्रशस्त उपयोगी जानकारी प्राप्त गर्न सकिने छ । त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंकहरू मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने टेलिकमको भनाइ छ ।

नेपाल टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरूको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बर पनि वेबसाइटबाटै खोज्न सकिन्छ । आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनै पनि सेवाको बारेमा खोजी गर्न सकिने सुविधासमेत वेबसाइटको होमपेजमै उपलब्ध छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *