नयाँ बजेटमा आर्थिक पत्रकारको सुझाव : ‘कृषिमा लगानी बढाऔं, खर्च कटौती गरौ’

news-details

आगामी आर्थिक वर्षको बजेटमा कृषि उत्पादनका क्षेत्रलाई प्रथामिकता दिनुपर्ने आर्थिक पत्रकारहरुले सरकारलाई सुझाव दिएका छन् ।

संसदको अर्थ समितिमा भएको छलफलमा पत्रकारहरुले उत्पादनका क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै साना तथा मझौता उद्योगिहरुका लागि राहतका कार्यक्रम ल्याउन सुझाव दिएका हुन । गरिबीको रेखामुनि रहेका कृषकहरुलाई पूर्ण रुपमा अनुदान दिनुपर्ने, किसानका उत्पादन किन्ने ग्यारेण्टी सरकारले गर्नुपर्ने सुझाव पनि उनीहरुको छ ।

नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष भीम गौतमले संघ, प्रदेश र स्थानीय सरकारले कृषि क्षेत्रमा कम्तिमा २० प्रतिशत बजेट छुट्याउनुपर्ने बताउनुभयो । कृषिका लागि आवश्यक मल, विउ र उपकरण खरिदमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । साना तथा मझौला उद्योगहरुलाई सरकारले ६ महिनासम्मको भाडा बाफतको रकम सतप्रतिशत अनुदान दिनुपर्ने, ब्याजमा लाग्ने जरीवना ६ महिनासम्म नलाग्ने व्यवस्था गर्न पनि उहाँले सुझाव दिनुभयो ।

नेपाल आर्थिक पत्रकार संघका अध्यक्ष सिताराम भट्टराईले अनावश्यक खर्च कटौतीतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । कोरोनाले अर्थतन्त्रमा पार्ने महासंकटको पूर्वानुमान र प्रक्षेपण अहिले गरेर पूर्ण तयारी गर्ने औजारको रुपमा बजेटको सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । बजेटको आकार घटाएर आवधिक योजनाको प्राथमिकतामा परिमार्जन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सचिव रोयल आचार्यले बैंक तथा वित्तिय क्षेत्रले कृषि क्षेत्रमा कुल लगानीको १० प्रतिशत खर्च गर्नुपर्ने प्रावधानलाई कडाईका साथ लागु गर्नुपर्ने बताउनुभयो । कोरोना महामारीको बेला मात्रै नभएर सधैका लागि कृषि उत्पादनको ढुवानीमा पनि राज्यले ५० प्रतिशत राज्यले दिने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले जलविद्युत विकासको क्षेत्रमा आकार्षित गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । २ खर्ब १६ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने अहिलेको अवस्थालाई जलविद्युतको विकासले विस्थापित गर्नुपर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अझै सञ्चारमाध्यमले सरोकारवालाहरुसँग बसेर प्राथमिकताका क्षेत्र छुट्याएर सुझाव दिए सरकारलाई भन्न सकिने अवस्था आउने बताउनुभयो ।

समितिले शनिबार कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव र आगामी बजेटका प्राथमिकताका विषयमा नेपाल आर्थिक पत्रकार संघ र नेपाल आर्थिक पत्रकार समाजसहित सञ्चार क्षेत्रसँग छलफल गरेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *