अप्पर माछाखोला जलविद्युतलाई राष्ट्रिय वाणिज्य वैंकले लगानी गर्नेबारे सम्झौता

news-details

गैरआवासीय नेपाली र स्वदेशका युवा उद्यमी मिलेर निमार्ण गरिरहेको गोरखा जिल्लाको अप्पर माछाखोला जलविद्युत आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्न इच्छुक भएको छ । विकास हाइड्रोपावर कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एक कार्यक्रमकाबीच वित्तिय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेपछि वैंकले कर्जा दिने भएको हो ।

विकास हाइड्रोपावर कम्पनीद्वारा प्रवद्धित अप्पर माछाखोला जलविद्युत आयोजनालाई सम्झौता अनुसार बैंकले ४९ करोड ऋण लगानी गर्नेछ । जलविद्युत आयोजना कुल ८१ करोड ६५ लाखको लगानीमा निर्माण भइरहेको अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए ।

सम्झौता कार्यक्रममा विकास हाइड्रोपावरका प्रबन्ध निर्देशक कृष्ण घिमिरे, निर्देशक सरोज धिताल र सुनिल श्रेष्ठ तथा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विद्युत खरीद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । आयोजनाको लागतमा ६० प्रतिशत लगानी बैंकले गरेको र बाँकी ४० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने जनाइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले अप्पर माछाखोला जलविद्युत आयोजनामा कुनै ‘रिस्क’ नदेखेकोले बैंकले लगानी गरेको बताए । ‘युवा साथीहरुको काम गर्ने उत्साह देखेर खुशी छौं । आयोजना समयमै निर्माण हुने र सबैले लाभ प्राप्त गर्नेमा पनि आशाबादी छौं’, श्रेष्ठले भने । श्रेष्ठले वाणिज्य बैंक सरकारी बैंक भएपनि नीजि बैंकहरुभन्दा पनि अगाडि रहेर शीर्ष स्थानमा रहेको बताउँदै बैंकले जलविद्युत आयोजनालाई प्राथमिकतामा राखेर लगानी गरिरहेको बताए ।

कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक उपसंयोजक समेत रहेका न्यौपानेले अवको १८ महिना भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले भने–‘ स्थानीयको सहयोग र वैंकको लोन प्राप्त भएपछि २०७८ भित्र नै काम सकेर नमूना प्रोजेक्ट बनाउनेछौ ।’

गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा ४ दशमलव ५५ मेगावाटको हाइड्रोपावर निर्माण शुरु भइसकेको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजनाका लागि काम तीव्र गतिमा भइरहेकोे कम्पनीका प्रवन्ध निर्देशक कृष्ण घिमिरेले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *