बाल अस्पताल निर्माणमा राष्ट्रिय वाणिज्य बैंकद्धारा ५० लाख आर्थिक सहयोग

news-details

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई अस्पताल भवन निर्माणको लागि ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

यस सम्बन्धमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले एक कार्यक्रमकाबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका छन । हस्ताक्षर समारोहमै बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले ५० लाख रुपैंयाको चेक किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई हस्तान्तरण गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै किओचका संस्थापक अध्यक्ष प्रा.डा.भगवान कोइरालाले हाल मुलुकभर करिब १ करोड २० लाख बालबालिका भएको र स्वास्थ्य उपचारको अवस्था कमजोर रहेकोमा बैंकको सिएसआरको पैसा बालबालिकाको उपचार हुने अस्पतालमा प्रयोग हुनु पूण्य कार्य भएको र यस्ता सहयोगले अधुरा परियोजनाहरु संचालनमा ल्याउन सघाउ पुग्ने बताए ।

बैंक संचालक समितिका अध्यक्ष निर्मलहरि अधिकारीले राज्यको पंहुच नपुगेको ठाउंमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा दिइरहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद लगायतको क्षेत्रमा बैंकले सिएसआर मार्फत सहयोग गरिरहेको बताए ।

काठमाडौं इन्ष्टीच्युट अफ चाइल्ड हेल्थ(किओच) बाल स्वास्थ्यको क्षेत्रमा बहुविशिष्टीकृत एउटा अस्पलाल संचालन गर्ने, तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने, गुणस्तर बृद्धि गर्ने, नियमनका विधि र प्रक्रियाको विकास गर्ने, नीति निर्धारण गर्ने लगायतका कार्य गर्ने गरी सवै प्रादेशिक बाल अस्पलातहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रीय बाल अस्पताल संचालन गर्ने गरी स्थापना भएको बाल अस्पताल हो । काठमाडौंको बुढानिलकण्ठमा केन्द्रीय अस्पतालको रुपमा स्थापना हुने यो बाल अस्पताल मुनाफारहित कम्पनीको रुपमा रहेने र देशका सातै प्रदेशमा संचालन हुनेछ ।

बैंकले चालु आ.व. को दोश्रो त्रैयमासमा २ अर्ब २० करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९५ अर्ब रुपैंया, कर्जा १ खर्ब ४७ अर्ब रुपैंया र बेस रेट ६.६० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३९ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

कार्यक्रम ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गर्नुभएको थियो । कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु किओचका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *