२५ जनामध्ये संखुवासभाली सुजनले पाए ‘सीआइपी’ सम्मान

कृषिजन्यतर्फ सवैभन्दा बढि निर्यात गरेकोमा सम्मान
news-details

सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेको छ ।

कृषिजन्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएवापत प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभा जिल्लाका सुजन कुमार श्रेष्ठलाई सीआइपी सम्मान गरेका छन् ।
मनराम हिमालयन हेयाण्डिक्राफ्ट प्रालिका प्रवन्ध निर्देशक श्रेष्ठले कृषिजन्यतर्फ सवैभन्दा बढि निर्यात गरेको भन्दै सम्मान गरिएको हो ।

आन्तरिक उत्पादन बढाउँदै मुलुकको निर्यात ब्यापारमा सघाउ पु¥याउने ब्यवसायीलाई सरकारले सम्मान गर्दैआएको छ । वाणिज्य मन्त्रालय अन्तर्गतको ब्यापार तथा निकास प्रवर्द्धन केन्द्रले महत्वपूर्ण ब्यवसायिक ब्यक्तिहरूलाई सम्मान गरेको हो ।

मनराम फाउण्डेशनका अध्यक्ष समेत रहेका श्रेष्ठले व्यवसायिक सफलता मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान प्रदान गरेका छन् । अमेरिकामा पनि व्यवसाय गरिरेहका श्रेष्ठले नेपालको छुर्पी अमेरिका निर्यात गर्दै आएका छन् । स्वदेशमा उत्पादन बढाउँदै उत्कृष्ट निर्यातकर्ता रहेका श्रेष्ठले सरकारले सीआइपी जस्तो उच्च सम्मान दिदा स्वदेशमा अझ धेरै व्यपार व्यवसायमा लाग्न हौसला मिलेको बताए । उनले रोजगार मञ्चलाई भने–‘ आज हाम्रो टिम धेरै खुशी छ, हाम्रै देशमा पनि व्यपारका संभावना धेरै छन्, यो सम्मानसँगै अझ व्यवसाय विस्तार गर्न हौसला मिलेको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र वाणिज्य राज्य मन्त्री मोतिलाल दुगडले २५ जना एद्योगी व्यवसायीलाई सम्मान गरेका छन् ।बैंकिङ प्रणालीमार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याउने व्यवसायी मध्येबाट आइएमइका चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । ढकाल यस अघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ ।

तेस्रो मुलुकतर्फ निकासी रकमका आधारमा अग्रस्थानमा रहेका पाँच वस्तुको सबैभन्दा बढी निर्यात गर्नेहरुलाई सम्मान गरिएको हो । यसी सम्मान पाउनेमा धागोबाट त्रिवेणी स्पिनिङ मिलका अध्यक्ष रामचन्द्र संघाइ र गलैचाबाट दी सांग्रिला कार्पेट एण्ड ह्यान्डीक्राफ्ट इण्डस्ट्रिज प्रालिका प्रबन्ध सञ्चालक दोर्जे ग्याल्सेन लामा छन् ।

काठमाडौं स्टोर फेसनका प्रबन्ध निर्देशक राहुलमान शाक्य तयारी पोशाकमा, एभरेष्ट पश्मिना निटिङ एण्ड विभिङ इण्डष्ट्रीजका सूर्यकुमार गुरुङ पश्मिना सलमा र ऊनी फेल्टका उत्पादनका लागि एभरेष्ट फेशन सम्मानित भएको छ ।

डाबर नेपालका हरकिरत सिंह बेदी, आरती स्ट्रीप्सका दिव्यराज सापकोटा र हुलास वायर इण्डस्ट्रीज लिमिटेडकी निर्देशक युक्ति गोल्छा भारततर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ताका रुपमा सम्मानित भएका हुन् ।

चीनतर्फ रकमको आधारमा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने नेपाली निर्यातकर्ता उद्योगीलाई पनि सम्मानित गरिएको छ । पेम्बा दोर्जे शेर्पा न्यू हस्तकला एक्सपोर्टबाट, विश्वराज बस्नेत गणेश हिमाल इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिबाट र मछिन्द्र पाण्डे न्यू प्यागोडा इन्टरप्राइजेजबाट सम्मानित भएका छन् ।

नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुहरूको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउने निर्यातकर्ता मध्येबाट गोपीप्रसाद कँडेल सम्मानित भए ।

जडीबुटीतर्फ निर्वाणकुमार चौधरी, निर्यात व्यापारमा कूल रकमको आधारमा सबभन्दा बढी रकमको निर्यात गर्ने महिला निर्यातकर्ता राजलक्ष्मी गोल्छा सम्मानित भएका छन् । सफ्टवेयर निर्यातमा रकमको आधारमा प्रथम स्थान हासिल गर्ने निर्यातकर्ता दीपेश प्रधान पनि सम्मानित भएका छन् ।

उद्योग स्थापना भइ सञ्चालनमा रहेका सबैभन्दा बढी लगानी गर्ने (स्वदेशी श्रम र सीप उपयोग गर्ने ) उत्पादनमूलक उद्योगका उत्कृष्ट व्यवसायीमा लीऊ शु कुवाङ परेका छन् । उनी होङ्सी शिवम सिमेन्टका प्रबन्ध निर्देशक हुन् ।

सबैभन्दा बढी रोजगारी श्रृजना गर्ने उद्योगी व्यवसायीबाट पवनकुमार गोल्याण पनि सम्मानित भएका छन् । पर्यटन क्षेत्रमा सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीबाट तरागाउँ रिजेन्सी होटल्सका सुरेशलाल श्रेष्ठ सम्मानित भएका छन् भने युवा उद्यमी व्यवसायीहरू मध्ये निर्यात व्यापार क्षेत्रमा सबैभन्दा बढी निकासी गर्ने सुनिता शेर्पा र अक्षय गोल्याण सम्मानित भएका छन् ।

निर्यात व्यापारका साथै वाणिज्य क्षेत्रमा प्रवर्द्धनात्मक कार्य गरी आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएवापत तीनवटा संघका अध्यक्षलाई मानार्थ सम्मान दिइएको छ । नेपाल उद्योग वाणिज्य महासंघबाट भवानी राणा, नेपाल चेम्बर अफ कमर्सबाट राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघबाट शतीसकुमार मोर सम्मानित भएका हुन् ।

सीआइपी सम्मान पाउनेहरुले देशका विशिष्ट व्यक्तिसँग चाहेको समयमा औपचारिक भेटघाटको विशेष अवसर पाउने, विमानस्थलमा विशिष्ट कक्ष प्रयोग गर्न पाउने, सार्क देशमा विशेष सुविधा, वैदेशिक व्यापार मेलामा जान पाउने लगायतका विशेष अवसर पाउने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *