बाध्यकारी श्रम स्वीकृति हटाउन कतारका नेपाली व्यवसायीको माग

news-details

नेपाली व्यवसायी संघ कतारले त्यहाँ रहेका नेपाली व्यवसायीले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने प्रावधानलाई बाध्यकारी नबनाउन माग राखेका छन् । संघले नेपाली दूतावास कतारमार्फत नेपाल सरकारलाई व्यवसायीका लागि झण्झटिलो श्रम स्वीकृतिको व्यवस्था हटाउन अनुरोध गरेको हो ।

संघले कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्धाजलाई ज्ञापनपत्र बुझाउँदै व्यवसायीलाई पनि श्रमस्वीकृति लिनु पर्ने झण्झटिलो समस्या समाधानका लागि अनुरोध गरे । अहिले कतार जाने कामदार वा व्यवसायीले एकै प्रकृयाबाट श्रम स्वीकृति लिनु पर्ने प्रावधान छ ।

‘नेपाली ब्यवसायीले कतारमा ४९ प्रतिशत लगानीको हिस्सेदार भई ब्यापार ब्यवसाय गर्दै आइरहे पनि यहाको कानुनले कतारमा ब्यापार ब्यवसाय गर्ने जोकोही आप्रवासीहरुको लागि छुट्टै प्रकारको भिसाको ब्यबस्था हालसम्म गरेको छैन । कामदार भिसामै ब्यवसाय गर्नुपर्ने बाध्यात्मक अवस्था छ,’ संघका अध्यक्ष महेन्द्र चौलागाईले दूतावासमा बुझाएको ज्ञापनपत्रमा भनेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ–‘कतार सरकारले व्यवसाय भिषा दिदैन अर्कोतिर वैदेशिक रोजगार विभागले कामदार भिषामा विदेश जानेहरुलाई श्रम स्वीकृति अनिवार्य गरेको अवस्था छ, अझ हालैका दिनमा श्रम स्वीकृतिमा पनि कडाई गर्दै पहिलाको पेशाको पदनाम र हालको पेसाको पदनाममा फरक पर्ने भएमा इम्प्लोइमेन्टको करार देखाउनु पर्ने, श्रम कार्यालयमा स्वयं उपस्थित हुनुपर्ने लगायतका अन्य थप शर्तहरुले प्रकृया अझै झन्झटिलो हुन पुगेको छ ।’

संघका अध्यक्ष चौलागाई भन्छन्–‘छोटो समयमा धेरै व्यवसायीक कार्यहरु गरेर पटक पटक यात्रा गरिरहनुपर्ने व्यवसायीहरुका लागि भने समय र प्रकृयाको हिसाबले झन्झटिलो र अत्यास लाग्दो भइरहेको छ ।’

नेपालबाट पहिलो पटक वैदेशिक रोजगारमा आउँदा जे सुकै पदमा आएका भएता पनि हाल व्यवसाय गरिरहेका व्यवसायीहरुको उपयुक्त वर्गिकरण गरी वा कुनै विधि अपनाई उक्त झन्झटिलो प्रकृया अन्त्य गरेर प्रमाणित व्यवसायीहरुलाई विना श्रम स्वीकृति नै यात्रा गर्न सक्ने व्यवस्था गरिदिन संघले अनुरोध गरेको छ । संघले भनेको छ–‘व्यवसायी पहिचानको मुख्य आधार कतारको कम्पनि रजिस्टार्ड प्रमाणपत्रमा नाम उल्लेख हुनु हो । तसर्थ त्यसैलाई आधार मानेर वा कुनै परिचयपत्र जारी गरेर अथवा व्यवसायीहरुको आधिकारीक सूची तयार गरेर कार्यन्वयन गर्न सकिनेछ ।’ संघले सहजताका लागि नेपाली राजदूतावासले माग गरेबमोजिमका कागजातहरु पेस गर्न र आवश्यक समन्वय तथा सहजिकरण गर्न सदैव तत्पर रहेको जनाएको छ ।

संघले कामदारको रुपमा विदेश आई अथक मेहनत र ईमान्दारीताका साथ संघर्ष गरेर व्यवसायीक हैसियत बनाउदै आर्थिक रुपमा मात्र नभई हरेक क्षेत्रबाट राष्ट्रको गरिमालाई उच्चो बनाउन प्रयासरत नेपाली व्यवसायीहरुले श्रम स्वीकृति लिनुपर्ने झन्झटिलो प्रक्रिया अन्त्य गरी समस्या समाधानका लागि राजदूत मार्फत अनुरोध गरेको हो ।कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाजले व्यवसायीले भोगिरहेका समस्यालाई समाधान गर्न दूतावासले सहयोग गर्ने बताए । उनले व्यवसायीका मागलाई सम्बन्धित निकायमार्फत समाधान गर्ने आश्वासनसमेत दिएको संघले जनाएको छ ।

यस्तो छ ज्ञापनपत्र :

business association
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *