उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालद्धारा उम्मेदवारी घोषणा

news-details

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन ।

बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवको उदघाटन समारोहमा महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले गरेको प्रस्ताव स्वीकार गर्दै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताएका हुन । ‘साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु’ महोत्सवलाई सम्वोधन गर्दै ढकालले भने ।

आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरका कार्यक्रमहरुमा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवम् स्थानीय उद्यमीहरुले महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको स्मरण गर्दै ढकालले आफु यसका लागि तयार रहेको जानकारी दिए ।

सो अवसरमा ढकालले आफूले सानो व्यवसायबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको बताउँदै आगामी दिनमा साना तथा मझौलाका साथै समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए । ‘मेरो जीवन पनि तपाईँहरुजस्तै सानो तिनो पसल, उद्यम र सामान्य जागिरबाट शुरु भएर यहाँसम्म पुगेको हो, त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी म महसुश गर्न सक्छु’ ढकालले भने ।

आम उद्योगी व्यवसायीहरुको आशा र भरोसाको सम्बाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ढकालले नेपाल सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन निजी क्षेत्रकोतर्फबाट आफूले पैरवी गर्नेसमेत बताए ।

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन । उनले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भएर पनि काम गरिसकेका छन ।

ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स  एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ । उहाँ नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन ।  समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य पनि हुन भने उनी नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *