ग्लोबल आइएमई बैँकको १३ औं वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

news-details

ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । आव २०७५/७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै बैँकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

ग्लोबल आइएमई बैँकले आव २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैँकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ ।

साथै, साधारण सभाले जनता बैँक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैँक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैँक मर्जरका लागि नेपाल राष्ट्र बैँकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैँक लिमिटेडको नामबाट एकिकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।

साधारण सभाले बैँकको अधिकृत पूँजी रु १६ अर्बलाई वृद्धि गरी रु २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको छ । साधारण सभामा बोल्दै बैँकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैँकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरुगर्ने योजना रहेको बताए ।

मर्जरपछि ग्लोबल आइएमई देशकै सबै भन्दा ठूलो र सबल बैँक बन्ने बताउँदै, उनले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैँकिङ्क सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यी दुई बैँकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमती गरेका थिए भने कार्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैँक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ । त्यस्तै मर्जरपछि बन्ने बैँकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।

मर्जरपछि ग्लोबल आइएमई बैँक नेपालकै ठूलो बैँक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १० अर्ब भन्दा बढी र कुल कर्जा लगानी करिब २ खर्ब पुग्नेछ ।

त्यस्तै बैंकको शाखा सञ्जाल करिब ३ सय तथा सेवा केन्द्रको संख्या ८ सय ५० भन्दा बढी हुनेछ । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारीहरु रहने छन् ।

त्यस्तै बैंकको २ सय ५६ एटीएम, २ सय ४१ शाखा रहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर ३ वटा बैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *