नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सार्वजनिक

news-details

निजि क्षेत्रको भुक्तानी सेवा प्रदायक कम्पनी सेलकमले नयाँ डिजिटल भुक्तानी सेवा ‘सेलपे’ सञ्चालनमा ल्याएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले सेलपेको औपचारिक उदघाटन गरेका हुन ।

उद्घाटन समारोहमा बोल्दै गभर्नर नेपालले प्रविधि धेरै नै महङ्गो व्यवसाय भएको र यो सुरक्षित हुनुपर्ने बताए । उनले पछिल्लो समय विश्व वित्तीय प्रविधिको क्षेत्रमा तीब्र गतिमा अघि बढिरहेको भन्दै त्यसैलाई पछ्याउनुपर्नेमा जोडसमेत दिएका थिए ।

सेलकम कम्पनीका अध्यक्ष दीपक मल्होत्राले नेपालमा डिजिटलाइजेशनको मागलाई सम्बोधन गर्नका लागि सेलपे ल्याइएको बताए भने सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले सेलपे सेवा नयाँ प्रविधिमा आधारित भएकाले यसबाट अरु मोबाइल वालेटजस्तो बैंक खाताबाट पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुने बताए ।

कार्यक्रममा सेलपेका सद्भावनादूत वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि आ–आफ्नो मन्तव्य राखेका थिए ।

मोबाइल र वेब एप्लिकेशनको माध्यमबाट कुनै वालेट नै नबनाई आफ्नै बैंक खाता प्रयोग गरी सेलपेमार्फत् रकम भुक्तानी तथा स्थानान्तरण गर्न सकिने सेलकमले जनाएको छ । सेलपेमा अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाइएको कम्पनीको दाबी छ ।

सेलपेमार्फत् विभिन्न दूरसञ्चार सेवा, बिजुली खानेपानी, टेलिभिजन, इन्टरनेट, विभिन्न व्यवसायमा पैसा तिर्न सकिने र एक बैंकबाट अर्को बैंकमा रकम स्थानान्तरण तथा स्वदेशभित्रै मनि ट्रान्सफर समेत गर्न सकिने छ । त्यस्तै, यसमा वास्तविक समयमा पिटुपी, पिटुबी, पिटुजी, बिटुपी, बिटुबी, बिटुजीलगायतका सेवा समेत उपलब्ध रहेको जनाइएको छ ।

मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने सेलपे सेवामार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन भएकाले वालेटविना नै विभिन्न भुक्तानीहरु गर्न सकिन्छ । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एपस्टोरमा उपलब्ध छ ।

सेलपेका सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत हुनेभएकाले यस सेवासँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने सेलकमले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave Comments