काठमाडौं-जापान दुईतर्फी भाडा ८० हजार निर्धारण

news-details

नेपाल एयरलाइन्सले काठमाडौंदेखि जापानको ओसाकसम्मको दुईतर्फी भाडा ८० हजार निर्धारण गरेको छ। भदौ १२ गतेदेखि जापान उडान शुरु गर्ने तयारी गरेको एयरलाइन्सले शुरुमा प्रबर्द्धनात्मक भाडादर राखिएको जानकारी दिएको छ।

एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्दले सेप्टेम्बरसम्मका लागि दुईतर्फी ८० हजार निर्धारण गरिएको छ। त्यसपछि भने भाडा केही बढ्ने छ।

एयरलाइन्सले एयरबस ए३३० जहाजबाट काठमाडौंबाट जापानको ओसाका उडान गर्ने छ। जहाज आएको १ वर्षसम्म छोटो दुरीमा आधा क्षमतामा उडिरहेका २ वाइडबडी जहाजबाट लामो दुरीमा उडान गर्ने गन्तव्य पाएको छैन।

यसअघि असार १९ गतेदेखि उडान शुरु गर्ने घोषणा गरेको एयरलाइन्सले तयारी नपुगेको भन्दै उडान सारेको थियो। जहाज उडाउने पाइलट नहुँदा एयरलाइन्सले उडान सारेको थियो।

जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजनाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। पछिल्लो समय एयरलाइन्सले जापानसँगै चीनमा पनि प्रक्रिया अघि बढाएको थियो।

जापानको नारितामा सिधा उडान गर्ने भनिए पनि एकाएक एयरलाइन्सले ओसाका उडानको प्रक्रिया अघि बढाएको थियो। राजधानी सहर टोकियो भन्दा निकै टाढा भएकाले ओसाका व्यावासायिकरुपमा सफल हुनेमा प्रश्न उठाइएको छ।

नेपाल एयरलाइन्सले १३ वर्षदेखिको उडान सन् २००७ मा जापान उडान बन्द गरेको थियो। चीनको सांघाइबाट ओसाकाको कन्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो। त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ।

सिधा हवाइ सम्पर्क टुटेपछि जापानबाट नेपाल आउने पर्यटकको संख्यामा समेत ओरालो लागिरहेको छ। नेपाल जापान बीचको द्विपक्षीय हवाइ सम्झौताअनुसार नेपालका एयरलाइन्सहरूले जापानको हानेदा एयरपोर्ट बाहेकका अरु सबै विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन्।

सम्झौताअनुसार अबदेखि हप्ताको १४ तथा दैनिक २ उडान नेपालबाट जापानका विभिन्न सहरमा गर्न मिल्ने छ। नेपाली एयरलाइन्सहरूले जापानका विमानस्थलबाट अमेरिका बाहेकका अन्य देशका विमानस्थलमा पनि उडान गर्नसक्ने छन्।

नेपालले हालसम्म ३९ देशसँग हवाई सम्झौता गरेको छ। सम्झौता भएपनि कतिपय देशहरूले नेपाली एयरलाइन्सलाई उडान अनुमति दिन आनाकानी गरिरहेका छन्।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *