अमेरिकाको अरोरामा नेपाली समुदायले बुद्ध जयन्ती मनाए, हरेक वर्ष मे ३ मा “बुद्ध डे” मनाउने घोषणा
- बैशाख २४, २०८३
- 0
अमेरिकाको अरोरामा रहेका नेपालीहरूले यस वर्ष बुद्ध जयन्ती विशेष रूपमा मनाएका छन्। कार्यक्रममा १५० भन्दा बढी नेपालीको सहभागिता रहेको थियो।
सो अवसरमा अरोरा सिटीका मेयर प्रो टेम एलिसन कुम्ब्सले हरेक वर्ष मे ३ लाई “बुद्ध डे” घोषणा गर्दै बुद्ध जयन्तीलाई औपचारिक मान्यता दिएको पत्र डिपुटी मेयर एलिसन कोमले पढेर सुनाएका थिए । उनले बुद्धका शान्ति, करुणा र ज्ञानका सन्देशको सम्मान गरेका छन्।

कार्यक्रममा भिक्षु शान्ति देवको उपस्थितिले धार्मिक वातावरण थपिएको थियो। बुद्ध वन्दनाबाट सुरु भएको कार्यक्रममा सामूहिक ध्यान पनि गरिएको थियो।
बुद्धिस्ट सोसाइटी अफ कोलोराडोका अध्यक्ष तथा समाजसेवी श्याम श्रेष्ठले यस्ता कार्यक्रमले विदेशमा रहेका नेपालीलाई आफ्नो संस्कृति सम्झन र जोगाउन मद्दत गर्ने बताए। उनका अनुसार बुद्धका शिक्षा विश्वभर शान्तिको मार्ग देखाउने खालका छन्। श्रेष्ठले सबैको सहकार्यले कार्यक्रम सफल भएको बताए। उनले जहाँ भए पनि नेपालीहरूले आफ्नो संस्कृति जोगाएर नयाँ पुस्तामा पुर्याउनुपर्नेमा जोड दिए।

अध्यक्ष श्रेष्ठले अरोरा सिटी कोलोराडो युएसएका मेयर माइक कोफमेन र कार्यक्रममा सहभागी भएका डिपुटी मेयर एलिसन कोमलाई हार्दिक आभार समेत प्रकट गरे ।
कार्यक्रममा सहभागीहरूले बुद्धका शिक्षालाई व्यवहारमा लागू गर्दै समाजमा सद्भाव र सहकार्य बढाउनुपर्ने बताएका थिए।

कार्यक्रममा स्थानीय नेपाली संस्थाका प्रतिनिधिहरूका साथै वरिष्ठ नेपाली नागरिक एवं हेल्पिङ ह्यान्ड एन्ड हेल्थ एजुकेसनका अध्यक्ष नारायण श्रेष्ठ, सङ्खुवासभा समाज अमेरिकाकी अध्यक्ष शान्ति श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।















