अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष चम्लागाईं विशिष्ट पदकबाट विभूषित
- फाल्गुन १३, २०८२
- 0
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईं लाई सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रतिष्ठित “सामाजिक न्याय क्षेत्रमा अन्तर्राष्ट्रिय विशिष्ट पदक” प्रदान गरिएको छ। उक्त सम्मान अन्तर्राष्ट्रिय मानव अधिकार संगठनद्वारा वार्षिक रूपमा प्रदान गरिँदै आएको हो।
संगठनका अनुसार सामाजिक न्याय, समानता र मानव मर्यादाको संरक्षण तथा प्रवर्द्धनमा चम्लागाईंले देखाएको सक्रियता, समावेशी नेतृत्व र समुदाय सशक्तीकरणमा खेलेको भूमिकालाई आधार बनाएर यस वर्ष उहाँलाई छनोट गरिएको हो । विश्वव्यापी सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत विभिन्न समुदायलाई जोड्दै अधिकारमुखी अभियान सञ्चालन गर्नु उहाँको विशेष पहिचानका रूपमा उल्लेख गरिएको छ।
सम्मान ग्रहणपछि अध्यक्ष चम्लागाईंले यस उपलब्धिलाई व्यक्तिगत उपलब्धिभन्दा पनि विश्वभर फैलिएका झापाली समुदायको साझा प्रयासको परिणामका रूपमा व्याख्या गर्नुभयो। उहाँले सामाजिक न्याय र मानव अधिकारको पक्षमा आफ्नो प्रतिबद्धता अझ मजबुत बनाउँदै आगामी दिनमा थप सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
यसै सन्दर्भमा अन्तर्राष्ट्रिय झापाली समाज ले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै अध्यक्षलाई बधाई ज्ञापन गरेको छ। समाजका महासचिव चिरन खवास ले जारी गरेको विज्ञप्तिमा यस सम्मानले विश्वभर रहेका झापाली समुदायको प्रतिष्ठा र गौरवलाई थप उचाइमा पुर्याएको उल्लेख गरिएको छ। साथै, समाजसेवा, मानव अधिकार संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा अझ सक्रिय भूमिका निर्वाह गर्न यस उपलब्धिले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
उक्त सम्मानसँगै झापाली समुदायको सामाजिक योगदानले अन्तर्राष्ट्रिय स्तरमा पुनः एकपटक पहिचान पाएको विश्लेषण गरिएको छ।
कतारमा सफल नेपाली व्यवसायीको पहिचान बनाउनुभएका चम्लागाई नेपाल व्यवसायी संघ कतारका अध्यक्ष समेत हुनुहुन्छ ।















