मानवताको सेवामा समर्पित रम्जान अली मियाँलाई अन्तर्राष्ट्रिय सम्मान
- भदौ २, २०८२
- 0
जीवनका प्रारम्भिक दिनदेखि नै समाजका पीडित, वञ्चित र आवाजविहीनहरूलाई न्याय दिलाउने चाहना बोकेका प्रा. मोहम्मद रम्जान अली मियाँ अहिले अन्तर्राष्ट्रिय स्तरमै परिचित नाम बनेका छन् । यही समर्पण र योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय मानव अधिकार संगठनले उनलाई “मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा उत्कृष्टताको अन्तर्राष्ट्रिय प्रमाणपत्र” प्रदान गरेको छ ।
संगठनका अध्यक्ष डा. नेम सिंह प्रेमी, उपाध्यक्ष डा. मोहम्मद बरोहामी र महासचिव श्रीमती नादेजा चिलिप्नेङ्गोले हस्ताक्षर गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै भने, “प्रा. मियाँको दूरदर्शी नेतृत्व र निरन्तर संघर्षले मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ आयाम थपेको छ ।”
प्रा. मियाँको जीवन केवल शैक्षिक र बौद्धिक उपलब्धिमा सीमित छैन । बाल्यकालमै देखिएको सामाजिक न्यायप्रतिको अभिलाषाले उनलाई अध्ययन, अनुसन्धान र मानव अधिकारको क्षेत्रमा सक्रिय बनायो । उनले न्याय, समानता र आपसी सम्मानका आधारमा समाजलाई बदल्न सकिन्छ भन्ने विश्वास बोकेर विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानमा संलग्न हुँदै आएका छन् ।
उनी विशेषगरी मानव अधिकारको संरक्षण, सामाजिक न्याय र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणका लागि निरन्तर लागिपरेका छन्। वञ्चित वर्गलाई अवसर दिलाउने, जातीय–धार्मिक सद्भाव कायम राख्ने र राष्ट्रबीच समझदारीका पुल निर्माण गर्ने उनका प्रयासहरूले उनलाई फरक पहिचान दिलाएको छ ।

प्रमाणपत्रमा उल्लेख गरिएझैँ, “प्रा. मियाँले मानवीय मूल्यहरूको संरक्षणलाई राष्ट्र–राष्ट्रबीच समझदारीका पुलहरू निर्माण गर्ने अथक प्रयाससँग संयोजन गरेका छन्, जसले समाजमा चेतना, गौरव र एकताको मूल्यलाई उच्च राखेको छ ।”
समाजलाई न्यायपूर्ण र सचेत बनाउन उनी निरन्तर लागिरहे। धेरै चुनौतीहरूको बीचमा पनि उनले देखाएको दृढ संकल्प र नीतिगत आवाजले अनेकौं पीडितलाई आशा दिएको छ। उनका यिनै योगदानहरूलाई अन्तर्राष्ट्रिय स्तरमा कदर गर्दै यसपटक उनलाई यो सम्मान प्रदान गरिएको हो ।
प्रा. मियाँले सम्मान ग्रहण गर्दा भनेका थिए, “यो प्रमाणपत्र केवल मेरो लागि होइन, न्याय र मानव अधिकारका लागि काम गर्ने सबै सचेत नागरिकका लागि प्रेरणाको स्रोत हो। मानवताको रक्षा र न्यायपूर्ण संसार निर्माण गर्न अझ प्रतिबद्ध भएर अघि बढ्ने संकल्प म दोहोर्याउछु।”
राष्ट्रदेखि विश्व स्तरसम्मको मानव अधिकारको संघर्षमा उनको नाम जोडिनु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण नेपाली समाजका लागि गौरवको विषय बनेको छ ।















