ओमानमा नेपाल किराँत समाजको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कुशलता राई
- पि.बि श्रेष्ठ/मस्कट
- साउन २५, २०८२
- 0
नेपाल किराँत समाज ओमानले सर्वसम्मत रूपमा कुशलता राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै दोस्रो राष्ट्रिय अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशन ओमानको गोव्रा स्थित अल महा होटलमा नेपाली राजदूतावास मस्कटका श्रम सहचारी दामोदर ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एनआरएनए अभियन्ता डी.बी. क्षेत्री, गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्का लगायत ओमानका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
अध्यक्ष याम थक्लेन लिम्बुले प्रस्तुत गरेको प्रगति विवरण अनुसार, गत दुई वर्षमा एले सम्वत र उधौली पर्वको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरियो। समस्यामा परेर स्वदेश फर्कनुपर्ने व्यक्तिहरूलाई मस्कटदेखि काठमाडौंसम्मको हवाई टिकट उपलब्ध गराइयो। समस्याग्रस्त तथा उपचार आवश्यक व्यक्तिहरूलाई सहयोग पुर्याइयो। साथै, फुटबल प्रतियोगिता आयोजना गर्नुका साथै विभिन्न खेलकुद कार्यक्रममा सहभागिता जनाइयो।
कोषाध्यक्ष कुशलता राईले प्रस्तुत गरेको विवरण अनुसार, दुई वर्षमा संस्थाले करिब ११ हजार रियाल (नेरू ४० लाखभन्दा बढी) आय–व्यय गरेको र हाल २४११ रियाल (लगभग नेरू ८ लाख) बचत रहेको छ।

चुनाव समितिको संयोजक दीपक श्रेष्ठ, सह–संयोजक पूर्णबहादुर गुरुङ र गणेश राई थिए। सबै पदमा एक–एक उम्मेदवारी परेको हुँदा सर्वसम्मत चयन भएको घोषणा गरियो।
नव–निर्वाचित पदाधिकारी
अध्यक्ष – कुशलता राई
प्रथम उपाध्यक्ष – रमेश तुम्वाहाम्फे
द्वितीय उपाध्यक्ष – सन्तोष राई
तृतीय उपाध्यक्ष – अम्बर राई
महिला उपाध्यक्ष – शोभा राई
महासचिव – खपन साम्पाङ राई
सचिव – पारुहाङ राई
कोषाध्यक्ष – दिल्लीश्वर राई
सह–कोषाध्यक्ष – सोनी राई
युवा तथा खेलकुद संयोजक – नितेश लिम्बु
सांस्कृतिक संयोजक – बसन्ती राई
प्रवक्ता – अल्बिना राई
सदस्य – रबिन नेम्वाङ, सन्जीव चेम्जोङ सुव्वा, बिन्दु राई, श्याम लिम्बु, विशाल सुव्वा, पूजा लावती राई, सन्तोष राई (डी.जे), बिश कुमार याख्या, राम लिम्बु, आदेश राई, शर्मिला राई
नव–निर्वाचित कार्यसमितिलाई चुनाव समितिका सह–संयोजक तथा समाजका संरक्षक गणेश राईले शपथ ग्रहण गराए।
११ बुँदे घोषणा–पत्र
अध्यक्ष कुशलता राईले कार्यकाल २०२५–२०२७ का लागि ११ बुँदे घोषणा–पत्र प्रस्तुत गरिन्। यसमा सामाजिक सेवामा भैपरी आउने समस्यामा सहयोग पुर्याउने, समस्याग्रस्त नेपालीलाई दूतावासको समन्वयमा ओमान–नेपाल एकतर्फी चारवटा सम्म हवाई टिकट उपलब्ध गराउने, सांस्कृतिक तथा खेलकुद कार्यक्रममा सक्रियता देखाउने, वैदेशिक रोजगारका नीतिगत सुधारका लागि पहल गर्ने, नेपालमा किराँतीहरूको छाता संगठन गठन गर्ने, राहदानी नविकरण तथा सामाजिक सुरक्षामा आवद्धता–निरन्तरता सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता उल्लेख छ।
कार्यक्रममा विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरे। प्रमुख अतिथि दामोदर ज्ञवालीले संस्थाको प्रगति तथा कोष विवरणको प्रशंसा गर्दै दूतावास सधैं सहकार्यका लागि तत्पर रहने बताए।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा एनआरएनए अभियन्ता डी.बी. क्षेत्रीले महिला नेतृत्वको चयन गरेकोमा किराँत समाजलाई धन्यवाद दिँदै सहकार्य गर्ने प्रतिबद्धता जनाए। गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्काले संस्थाले हालसम्म गरेको प्रगतिलाई प्रशंसा गर्दै आगामी दिनमा यसलाई दोब्बर बनाउन आग्रह गरे र नयाँ पदाधिकारीलाई सफलताको शुभकामना दिए।
















