जापानमा अस्ताएका थापाको चौरीदेउराली समाजको नेतृत्वमा जापानमै अन्तेष्टि
- साउन १८, २०८२
- 0
गत २५ जुलाई, २०२५ मा जापानको चिबा केनस्थित माचुदो खोलानजिक मृत अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाउँपालिका–९, विर्तादेउरालीका प्रवीण थापाको जापानमै अन्तेष्टि गरिएको छ ।
चौरीदेउराली सम्पर्क समाज जापानको नेतृत्व तथा जापानमा रहेका अन्य नेपाली संघ संस्थाहरूको उपस्थितिमा थापाको जापानमै अन्तेष्टि गरिएको समाजका अध्यक्ष पेमा लामाले जानकारी दिए ।
प्रेमबहादुर थापा र अम्बिका खरेलका सुपुत्र २७ वर्षिय प्रविण थापा जापानमा अध्ययनरत रहेका थिए ।
थापाको निधनले चौरीदेउराली समाज स्तब्ध र शोकाकुल भएको बताउदै अध्यक्ष लामाले अध्ययन र भविष्यको सुनौला सपना बोकेर सात समुन्द्र पारी टाढाको देश जापानसम्म पुगेका प्रवीण थापाको जीवन यति चाँडै अस्ताउनु अत्यन्तै मर्मस्पर्शी र पीडादायी भएको बताए ।
उनले यस अकल्पनीय क्षणमा स्व. थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समाजको तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन । साथै यस दुखद घटनामा जापानमा रहेका चौरीदेउरालीवासिले देखाएको ऐक्यबद्धता र सहयोगका लागि आभार प्रकट गरेका छन ।















