पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टरको नेतृत्वमा राजेश बुढाथोकी

news-details

पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर वेष्टर्न अष्ट्रेलियाको नेतृत्वमा समाजसेवी राजेश बुढाथोकी सर्वसम्मत चयन भएका छन् ।

पशुपतिनाथ–बौद्धनाथ अफ वेष्टर्न अष्ट्रेलिया इन्कर्पोरेटको अधिबेशनले अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । पर्थमा नेपाली शैलीको सामुदायिक केन्द्र निर्माणतर्फ ठोस र आशाजनक प्रगति भइरहेको अवस्थामा वुढाथोकीको नयाँ नेतृत्व आएपछि थप अपेक्षा बढाएको छ ।

अध्यक्ष बुढाथोकीले समुदायसँग सहकार्य गर्दै सबैको साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । नवगठित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ, जसको मुख्य लक्ष्य पहिल्यै खरिद गरिएको जमिनमा नेपाली शैलीको मन्दिर, गुम्बा र बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्नु रहेको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार आफ्नो कार्यकालभित्र मन्दिरको जग हालेर नयाँ शुरुवात हुनेछ । परियोजना सम्पन्न गर्न करिब १९ लाख अष्ट्रेलियन डलर लागत लाग्नेछ भने थप १० लाख डलर सहयोग राशी संकलन गर्न उनले नेतृत्व लिनेछन् ।

राज्य सरकार, राजनीतिक दलहरू, समाजसेवी तथा अन्य संघसंस्थासँग सहकार्य गरेर यो योजना कार्यान्वयन गरिने बुढाथोकीको भनाइ छ । उनले स्पष्ट पारे, “जग्गा खरिद भइसकेकोले अब सरकारी निकाय र समुदायसँग समन्वय गर्न सहज भएको छ। सहयोग र अनुदान संकलनका लागि छुट्टै टिम बनाएर काम अघि बढाइनेछ।”

नवगठित कार्यसमितिमा अध्यक्ष राजेश बुढाथोकी, उपाध्यक्ष केदार रिजाल, कोषाध्यक्ष प्रकाश थपलिया र सह–सचिव शान्ति लामिछाने भण्डारी रहेका छन्। त्यस्तै सदस्यहरूमा भरत निउरे, चुडामणि लामिछाने, देव अर्याल, धनलाल श्रेष्ठ, राजीव श्रेष्ठ, विद्या शर्मा, राज थपलिया, भरत अर्याल, मिन सुब्बा गुरुङ, बैकुण्ठप्रसाद दुलाल र दिनेश तुलाधर छन् । सचिवको चयन भने कार्यसमितिको आगामी बैठकबाट गरिने जनाइएको छ।

राजेश बुढाथोकी पर्थका एक सफल व्यवसायी तथा समाजसेवी हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएका छन् । पर्थस्थित नेपाली समुदायमा उत्साह र आशा जगाउने यस योजनाले आगामी दिनमा अष्ट्रेलियामा नेपाली संस्कृतिको पहिचान झन् बलियो बनाउने अपेक्षा गरिएको छ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया