बागलुङ सेवा समाज कतारको नेतृत्वमा एक करोडको अक्षयकोष स्थापना हुँदै, महासंघका अध्यक्ष ढकाल कतार आउने
- सुरेश भट्ट आश्रिन
- बैशाख २, २०८२
- 0

बागलुङ सेवा समाज कतारले बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन आउँदो शुक्रबार दोहा कतारमा गर्ने भएको छ ।
बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित कोषको अधिवेशन शुक्रबार मुन्तजामा रहेको होटेल होलिडे भिल्लामा मध्यान्ह १२ बजेबाट सांगीतिक प्रस्तुतिसहित हुने भएको छ ।
अधिवेशनमा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकारका रूपमा नेपालबाट युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र भर्सटायल गायिका सिम्रन परियार कतार आउन लागेको अधिवेशन संयोजक तथा एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले जानकारी दिए ।
आयोजकका आनुसार उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई प्रमुख अतिथिको रूपमा कतार आउन लागेको बताए । ढकाल बागलुङ जिल्लाकै हुन् ।
अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए ।
गैरआवासीय नेपाली संघका अभियन्ता राज रेग्मीले उक्त कोषका लागि दश लाख र अर्का अभियन्ता राजेन्द्र कुमार शर्माले पाँच लाख सहयोग गरेकाछन् उनीहरु दुवैको पुर्ख्यौली थलो पनि बागलुङ नै रहेकोे छ ।
अक्षयकोषका संयोजक पौडेलका अनुसार बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताएकाका छन् । उनले कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्याइएको समेत बताए । निःशुल्क प्रवेश गर्न सकिने र अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि पौडेलले आग्रह गरेका छन् ।