युवा व्यवसायी तथा एनआरएनए कतारका सहकोषाध्यक्ष आचार्यको सडक दुर्घटनामा परी निधन
- फाल्गुन १०, २०८१
- 0

नेपाल व्यवसायी संघ कतारका सदस्य तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका सहकोषाध्यक्ष झविन्द्र आचार्यको सडक दुर्घटनामा परी निधन भएको छ ।
सडक दुर्घटनामा गम्भिर घाइते भएका आचार्यको सनैया स्थित हमाद हस्पिटलमा उपचारका क्रममा निधन भएको अस्पतालले पुष्टि गरेको छ । आचार्यको शव हमाद हस्पिटलकै मर्चरी सेन्टरमा राखिएको छ ।
गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष रमेश भट्टले एनआरएन अभियानमा अग्रपंक्तिमा रहेका आचार्यको निधनले अभियानमा ठुलो क्षति पुगेको र कतारमा रहेको नेपाली समाजलाई दुःखित बनाएको बताए । उनले आचार्यको शवलाई दुतावाससँग समन्वय गरी जतिसक्दो चाडो नेपाल पठाउन संघले पहल गरिरहेको बताए ।
यस्तै नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाईले संघका सदस्य आचार्यको निधनले कतारमा रहेका आम व्यवसायीहरुलाई मर्माहित बनाउनुका साथै संघलाई अपुरणिय क्षति पु¥याएको बताए ।
कतारमा सफल युवा व्यवसायी रहेका आचार्यलाई आफ्नो गाडी बिग्रेर सडक छेउमा उभिरहेको बेला बंगाली नागरिकले चलाएको अर्को गाडीले ठक्कर दिएको थियो ।
कतारमा रहेका नेपाली संघ संस्थामा सक्रिय रहेका आचार्यको निधनका कारण हिजो शुक्रबार ४० भन्दा बढी संघ–संस्थाहरुले आयोजना गरेका विभिन्न कार्यक्रमहरु शोक स्वरुप स्थगित गरेका थिए ।
गुल्मीको मालिका गाउँपालिका घर भएका ४० वर्षीय अर्याल स्थानीयस्तरमा पनि लोकप्रिय थिए । नेकपा एमाले पार्टीको राजनीतिमा समेत संलग्न उनी १ हप्ता अघि मात्र नेपालबाट कतार फर्किएका हुन ।
उनी गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका उपाध्यक्ष समेत रहेका थिए ।