यूएनडीओको सभापतिमा सोनाम लामा सर्वसम्मतले चयन
- पुस १४, २०८१
- 0
डायस्पोरामा रहेका नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (यूएनडीओ)को सभापतिमा सोनाम लामा (अमेरिका) सर्वसम्मतले चयन भएका छन । लामा यसअघि तदर्थ समितिको पनि सभापति रहेका थिए ।
काठमाडौमा आज सम्पन्न यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनले लामाको सभापतित्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपसभापतिमा प्रेमबहादुर गाहा मगर (युके), शशि चन्द्र अधिकारी (अमेरिका), पासाङ रिन्जी शेर्पा (युएई), भोमा देवी लिम्बु (अष्ट्रेलिया) र यम कुमार गुरुङ त्रिलोक (हङकङ) चयन भएका छन ।
यस्तै महासचिवमा कुशल के.सी. (अष्ट्रेलिया), सचिवमा संगिता कार्की कुवँर (द.कोरिया), कोषाध्यक्षमा उल्का प्र. घिमिरे (बेल्जियम) चयन भएका छन भने एसिया प्यासिफिक क्षेत्रीय संयोजकमा ना मिन ग्योङ/लक्ष्मी गुरुङ (दक्षिण कोरिया), युरोप क्षेत्रीय संयोजकमा पदम बहादुर गुरुङ (बेल्जियम), ओसियाना क्षेत्रीय संयोजकमा विजय पौडेल उपाध्याय (अष्ट्रेलिया), ओसियाना उपसंयोजकमा सुशान्त शर्मा (अष्ट्रेलिया) चयन भएका छन ।
यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो । ‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ भएको कार्यक्रममा पहिलो दिन जलवायु परिवर्तन, नेपालमा यसको प्रभाव र जलवायु जोखिमहरूका साथै ब्रेन ड्रेनको प्रमुख मुद्दालाई सम्बोधन गर्न विश्वभरका डायस्पोरा प्रतिनिधिहरू, समुदायका नेताहरू र स्थानीय सरोकारवालाहरूबीच गम्भीर छलफल भएको छ ।
नेपालले बढ्दो तापक्रम, अनियमित मौसमी ढाँचा र हिमनदीहरू पग्लने जस्ता बढ्दो वातावरणीय चुनौतीहरूको सामना गरिरहेको बेला, जलवायु लचिलोपनका लागि स्रोतहरूको वकालत, नवप्रवर्तन र परिचालनमा डायस्पोराको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको अवस्थामा यसैलाई प्रमुख मुद्दा बनाइएको आयोजकको भनाइ छ ।
एनआरएनएमा विवाद भएपछि यूएनडीओ गठन भएको थियो । जुन एनआरएनएजस्तै परराष्ट्र मन्त्रालयमा दर्ता छ । यूएनडीओमा विदेशी पासपोर्ट भएका नेपाली मुलका विदेशीहरुको मात्रै संलग्नता छ ।
महाधिवेशनका लागि करिब ३० बढी देशका प्रतिनिधि काठमाडौं आएका छन ।