नेपाल फेस्टिवल पर्थ : भब्यरुपमा सम्पन्न हुँदा उत्साहित स्थानीय नेपाली अगुवा

news-details

नेपाल बाहिर नेपाल चिनाउन गैरआवासीय नेपाली संघको मुख्य आयोजना रहेको ‘नेपाल फेस्टिवल’ भर्खरै अष्ट्रेलियाको पर्थमा सम्पन्न भएपछि आयोजक तथा नेपाली संघसंस्थाका अगुवाहरुले खुशी व्यक्त गरेका छन् ।

पर्थको मध्य सहरमा रहेको सुप्रिम कोर्ट पार्कमा गत सेप्टेम्वर १४ तारिखमा सम्पन्न नेपाल फेस्टिवलमा झण्डै १० हजार नेपाली तथा विदेशी नागरिकको उल्लेख्य सहभागिता रहेको थियो ।

पश्चिम अष्ट्रेलियाका नागरिकता र बहुसांस्कृतिक मन्त्री डा.टोनी बुटीसहित स्थानीय जनप्रतिनिधिहरु उपस्थित रहेको फेस्टिवलमा नेपाली मात्र होइन विदेशी नागरिकहरुको उपस्थितिले आयोजक तथा नेपाली समुदायका अगुवाहरु उत्साहित भएका छन् ।

एनआरएनए आइसीसी अध्यक्ष डा.बद्री केसीसहित एनआरएनएका पदाधिकारीहरु उपस्थित रहेको मेलामा नेपाली समुदायका तीन पुस्ताहरुको सहभागिता मात्र नभएर प्रस्तुतीसमेत रहेको थियो ।

नेपाल फेस्टिवलमा नेपाल हाउस, परम्पराको प्रदर्शन, धरहरा, पशुपतिनाथ, बौद्धनाथ, हिमाल लगायत नेपाललाई झल्काउन सामाग्री राखिएका थिए । फेस्टिवलमा नेपाली कला संस्कृति झल्काउने सामाग्रीका साथै नेपाली खाना, व्यवसायहरुका स्टलहरु राखिएका थिए । नेपाली खानाका स्टलमा लामो लामो लाइन लागेर खानेहरुको भीड लागेको थियो ।

नेपाल फेस्टिवल पर्थमा पहिलो पटक १० मिनेट आतिशबाजी गरिदा पर्थ शहर पट्काको आवाज र लाइटले उल्लासमय बनाएको थियो । एनआरएनए वेष्र्टन अष्ट्रेलियाले आयोजना गरेको फेस्टिवलमा विभिन्न संघसंस्था, जातिय समुह तथा क्लवहरुले सहकार्य गरेका थिए ।

पर्थमा पहिलो पटक १० हजारभन्दा बढि दर्शक उपस्थित गराएर मनाइएको नेपाल फेस्टिवल सम्पन्न भएपछि मुख्य आयोजक एनआरएनए वेष्टर्न अष्ट्रेलियाका पदाधिकारी तथा स्थानीय संघसंस्थाका प्रतिनिधिसँग रोजगार मञ्चले लिएको भिन्न भिन्न प्रतिक्रिया :

नेपाल फेस्टिवल एनआरएनएको सिग्नेचर प्रोग्राम हो
सुनिल श्रेष्ठ, सदस्य/एनआरएनए, एनसीसी अष्ट्रेलिया

नेपाल फेस्टिवल भनेको एनआरएनएको सिग्नेचर प्रोग्राम नै हो । प्रत्येक २ वर्षमा मनाइदै आएको नेपाल फेस्टिवल हामीले वेस्ट्रन अष्ट्रेलियामा विगतमा ३ पटक गरिसकेका थियौं भने यो चौथौं फेस्टिवल हो । पहिला पनि हामीले भव्यरुपमा फेस्टिबल सम्पन्न गरेका थियौ । यो फेस्टिवल भने यसअघिका भन्दा निकै भब्य र सब्यरुपमा सम्पन्न भयो । यसपटक १० देखि १२ हजारको हाराहारीमा अवलोकनकर्ता आएको हाम्रो अनुमान छ । नेपाल फेस्टिवललाई सफल पार्न र यति धेरै दर्शक भित्राउनका लागि नेपाली समाज, समुह तथा संस्थाहरुको हात छ । हामीले सामाजिक सञ्जाल, सार्वजनिक बसमा स्टिकर टाँसेर, रेडियो, पत्रपत्रिका मार्फत विज्ञापन गरेर पनि यसबारे धेरै जानकारी फैलाउन सकियो ।

फेस्टिवलमा स्थानीय सरकार, एनआरएनए आइसीसीका अध्यक्षदेखि लिएर विभिन्न क्षेत्रका एनआरएनसँग सम्बन्धित व्यक्तिहरुको उपस्थितिले हामीलाई हौसला बढाएको छ । सबैको साथ, सहयोग र समर्थनले नेपाल फेस्टिवल सफलतापुर्वक सम्पन्न भयो ।

पर्थमा अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाल फेस्टिवल भयो
मिक्की सुवेदी, सल्लाहकार / एनआरएनए, एनसीसी अष्ट्रेलिया

पहिलोपटक एनआरएनए आइसीसीका पदाधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थितिमा यति ठूलो कार्यक्रम सफलरुपमा सम्पन्न भयो । पर्थमा अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाल फेस्टिवल भयो र इतिहास नै रच्यो । पहिलाभन्दा डबल क्राउड भएको थियो यसपाली । आगामी दिनमा यो भन्दा ग्राण्ड बनाउनका लागि हामी सबैलाई उत्साह थपेको छ ।

हिजोको दिनमा एनआरएनएले युथहरुलाई समेट्न सकेको थिएन । तर आज युथहरु पनि एनआरएनएमा आएर काम गरेका कारण यस्ता कार्यक्रम सफल भएका हुन् । अहिले एनआरएनए धेरै अगाडि बढेको छ । पहिला हामी सानो थियौ अहिले ठूलो र बृहत हुँदै गएका छौ । साह्रो–गाह्रो, अप्ठ्यारो पर्दा एनआरएनए काम लाग्छ भनेर सबैले बुझेका छन् ।

नेपाल फेस्टिवल प्रवासीका लागि चाड नै हो
होमनाथ निरौला, सल्लाहकार/ एनआरएनए, वेष्टर्न अष्ट्रेलिया तथा सदस्य, नेपाली नागरिकताको निरन्तरता कार्यदल, एनआरएनए आइसीसी

पर्थमा आयोजना भएको नेपाल फÞेस्टिवल बडो भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । वेस्टर्न अष्ट्रेलियामा अस्थायी तथा स्थायीरुपमा बसोवास गर्ने सबै उमेर समुहका नेपालीहरुले भाग लिएको यो नेपाली मेलामा स्थानीय सरकारका मन्त्रीदेखि एनआरएनए आइसीसीका अध्यक्षसहितका पदाधिकारीको उपस्थितिले आयोजकलाई अझ बढी हौसला मिलेको छ । यो नेपाली मेलामा उपस्थित सबै नेपालीहरु खुशीले गद्गद् हँुदै बिभिन्न प्रकारका नेपाली परिकारहरु किनेर स्वाद लिदै खाएको देख्दा त म आफुलाई नेपालको गाउँमा लाग्ने मेलामा पुगेको अनुभूती भएको थियो । अब यो नेपाली फÞेस्टिवल हामी प्रवासमा रहने नेपालीहरुको हरेक दुई–दुई बर्षमा मनाउने चाड जस्तै भइसकेको छ ।

नेपाल फेस्टिवलले युवाहरुमा अझ हौसला बढायो
मनिस सिग्देल, युवा संयोजक/एनआरएनए, वेष्टर्न अष्ट्रेलिया

नेपाल फेस्टिवल पर्थ भव्यरुपमा सम्पन्न भयो । फेस्टिवलमा नेपाली समुदाय मात्र नभएर विदेशी समुदायको पनि राम्रो उपस्थिति रहेको थियो । मैले स्वंयमसेवकको संयोजक भएर काम गरिरहँदा फेस्टिवलमा युवा जमातको उपस्थिति राम्रो थियो । युवाहरुले फेस्टिवलमा आ–आफ्नो प्रतिभाहरु देखाउने अवसर पाउनुका साथै नेपाल चिन्न र चिनाउनका लागि यो नेपाल फेस्टिवल महत्वपूर्ण प्लाटफर्म बन्न पुग्यो । यो फेस्टिवलले युवाहरुमा उर्जा थपेको छ, आगामी दिनमा काम गर्न अझ हौसला बढाएको छ ।

दोश्रो पुस्तालाई नेपाल चिनाउन पाइयो
दिपेन्द्र चौधरी, निर्देशक /एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस, पर्थ


नेपाल फेस्टिवलमा मैले इभेन्ट म्यानेजमेन्टमा रहेर काम गरेँ । नेपालीहरुको यो सफल र उत्कृष्ट इभेन्ट बन्यो । हाम्रो नेपाली कल्चर, संस्कार, खाना र संस्कृतिजस्ता धेरै नेपाल झल्काउने विषयबस्तु प्रस्तुत गर्न पायौ । नेपाल कहाँ छ, कस्तो छ, त्यहाँको भाषा संस्कृति तथाा रितिरिवाज कस्तो छ भन्ने लगायतका सम्पुर्ण जानकारी फेस्टिवलबाट धेरैले थाहा पाए । अर्को कुरा हाम्रो आउने जेनेरेशनले हाम्रो नेपाली कल्चर, भाषा, संस्कृति के हो भन्ने कुरा पनि हेर्ने अवसर पाए । हरेक दुई बर्षमा नेपाल फेस्टिवल अझ राम्रो र उत्कृष्टरुपमा मनाउन आवश्यक छ । नेपालको बारेमा विदेशी नागरिक र स्थानीय सरकारलाई जानकारी दिन नेपाल फेस्टिवल उत्कृष्ट प्लाटफर्म हो ।

आगामी फेस्टिवल अझ उत्कृष्ट बन्न सकोस्
यम केसी, अध्यक्ष/ एभरेष्ट ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेज, पर्थ

अहिलेको नेपाल फेस्टिवलको हामी को–स्पोन्सर पनि हो । यो भन्दा अघिको फेस्टिवलमा हामीले टाइटल स्पोन्सर गरेका थियौ । अहिलेको फेस्टिवल पहिलाभन्दा ठूलो ठाउँमा अलि व्यवस्थित तरिकाले सम्पन्न भएको छ । पहिलेभन्दा राम्रो गर्दै जानु भनेको समय र समाजको माग पनि हो । नेपाली समाज पहिलाभन्दा ठुलो र फराकिलो हुँदै गएको छ । समग्रमा इभेन्ट सव्य र भव्य भयो । अब आउने कार्यक्रम यो भन्दा उच्चस्तरीय होस् भन्न चाहान्छु । नेपाली समाज सगरमाथा जस्तै उच्च होस् र ग्लोबल जस्तै फराकिलो होस् भन्न चाहान्छु ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *