वेष्टर्न अष्ट्रेलिया पर्थको भ्रमणमा रहेका परराष्ट्र मन्त्री एनपी साउदलाई पासपोर्ट नविकरणमा झेल्नु परेको सास्ती हटाउनका लागि पर्थमा रहेका नेपालीहरुले आग्रह गरेका छन् ।

नेपाली दूतावास क्यानवेराबाट ४ हजार किलोमिटरमा रहेको वेष्टर्न अष्ट्रेलियामा रहेका नेपालीहरुले पासपोर्ट वनाउन तथा नविकरणका लागि धेरै सास्सी खेप्नु परेको गुनासो गर्दै परराष्ट्र मन्त्री साउदलाई प्रश्न गरेका छन्–‘मन्त्रीज्यु हामीले पासपोर्ट नविकरणमा सास्ती कहिलेसम्म भोग्नु ?’

सातौँ हिन्द महासागर सम्मेलनलाई संवोधन गर्नका पर्थ आइपुगेका परराष्ट्र मन्त्री साउदको स्वागातार्थ जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाले शनिवार आयोजना गरेको कार्यक्रममा पर्थमा रहेका नेपालीहरुले गुनासो पोखेका हुन् ।

पर्थका नेपालीको परराष्ट्र मन्त्री साउदलाई प्रश्न : पासपोर्ट नविकरणमा सास्ती कहिलेसम्म ?

गैरआवासीय नेपाली संघ आइसीसी सदस्य दिनेश अधिकारीले नेपालको सरकारी उच्च तहको पर्थमा धेरै बर्षपछि औपचारिक भ्रमण भएकोमा खुशी व्यक्त गदै भने–‘नेपाली पासपोर्ट समयमा नविकरण गर्न नपाउँदा वा नसक्दा विदेशी पासपोर्ट लिन बाध्य नेपालीहरु धेरै छन्, त्यसैले नेपाल सरकारले पासपोर्ट नविकरण सहजरुपमा गरिदिनु पर्छ ।’

एनआरएनए वेष्र्टन अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले परराष्ट्र मन्त्रीको अष्ट्रेलियाको पर्थ भ्रमणले नेपालीलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आएको बताउँदै पर्थमा सरकारी उपस्थिति दरिलो बनाउनु पर्ने जनाए । उनले भने–‘ वेष्र्टन अष्ट्रेलियामा अन्य धेरै समस्या छैनन्, पासपोर्ट नविकरण नै अहिलेको मुख्य समस्या हो ।’ उनले दुर्लभ हुने पासपोर्ट वनाउने घुम्ति शिविर मात्र दीर्घकालिन समाधान नभएको हुँदा सबै अनलाइन प्रणाली अपनाएर दीर्घकालिन समाधानको उपाय खोज्न आग्रह गरे ।

कार्यक्रममा उपस्थित भएका अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो १८ महिने कार्यकालमा धेरै समस्या समाधान भएको बताए । उनले भने–‘मेरो कार्यकालमा दूतावासमा अनलाइन पेमेण्ट, टेलिफोन रेस्पोन्स, सेवा प्रवाहमा धेरै सुधार आएको छ ।’

राजदूत पोखरेलले वेष्र्टन अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि पासपोर्ट नविकरणका लागि घुम्ति शिविर यही महिनाको अन्त्यमा पठाउने जानकारी दिदै दूतावासमा जुनसुकै समयमा पासपोर्ट नविकरण गरिने जानकारी दिए ।

कार्यक्रममा प्रमुख आतिथि रहेका मन्त्री साउँदले नेपाली विद्यार्थीका लागि अष्ट्रेलिया प्रमुख गन्तब्य बनिरहेको बताउँदै नेपाली डायस्पोराको साइज अष्ट्रेलियामा बढेकोमा नेपाल सरकारले प्राथमिकतामा राखेर हेर्ने जनाए ।

नेपाल सरकारले दक्षिण एसियामा नै पहिलो पटक इपासपोर्ट बनाउन शुरु गरेको जानकारी दिदै मन्त्री साउदले भने–‘ हामीले सार्क देशमानै पहिलो पटक इपासपोर्ट ल्यायौ, नेपाल सरकारले धेरै सकारात्मक कार्य गरेको छ, राम्रो कामको प्रतिक्रिया विदेशमा रहेका नेपालीले गर्नुपर्छ, जसले गर्दा सकारात्मकता जाग्छ ।’

मन्त्री साउदले विभिन्न देशमा रहेका नेपालीहरुले पासपोर्ट नविकरणमा झेल्नु परेको समस्या नजिकबाट जानकार भएको बताउँदै अवको केही महिनामा नै समस्या हल हुने प्रतिक्रिया दिए । उनले भने–‘हामी काठमाडौंमा २ दिनभित्र पासपोर्ट बनाएर दिन्छौ, अव विदेशमा रहेका नेपालीहरुका लागि अनलाइन प्रणालीमा लैजान्छौ , अनि कुर्नु पर्ने अवस्था नै आउँदैन ।’

मन्त्री साउदले पर्थमा आएको बेला अष्ट्रेलियाका विदेशमन्त्री तथा उच्च अधिकारीसँग नेपालीहरुको भिसा तथा विद्यार्थीहरुका लागि सहजिकरणका लागि आफुले अनुरोध गरेको र सकारात्मक प्रतिक्रिया पाएको बताए । उनले भर्खरै भएको ट्रेड तथा इन्भेष्मेण्टसम्बन्धीको सम्झौताले नेपाल र अष्ट्रेलियाबीच लगानीका लागि ऐतिहाँसिक सफलता मिल्ने बताए ।

पर्थका नेपालीको परराष्ट्र मन्त्री साउदलाई प्रश्न : पासपोर्ट नविकरणमा सास्ती कहिलेसम्म ?

एनआरएनएभित्र देखिएको विवादप्रति लक्षित गदै मन्त्री साउदले एकजुट हुन र मिल्नका लागि अनुरोध गरिरहेको बताए । उनले भने–‘मलाई भेट्न तत्कालिन ३ वटै अध्यक्ष आउनु भएको थियो, मैले अहिले देखिएको समस्या आफैबाट हल गर्नका लागि अनुरोध गरिरहेको छु, हामीले छानविन समिति पनि बनाएका छौ, तर आफै मिल्नुको विकल्प छैन ।’

कार्यक्रमका सभापति तथा जनसम्पर्क समिति वेष्टर्न अष्ट्रेलियाका सभापति राजेश बुढाथोकीले पर्थमा रहेका सबै संघसंस्था तथा अग्रजहरुको सल्लाहमा कार्यक्रम आयोजना गरिएको जानकारी दिदै परराष्ट्र मन्त्रीको पर्थ भ्रमणले नयाँ उर्जा थपेको बताए ।

पर्थका नेपालीको परराष्ट्र मन्त्री साउदलाई प्रश्न : पासपोर्ट नविकरणमा सास्ती कहिलेसम्म ?

कार्यक्रममा जनसम्पर्क समिति वेष्टर्न  अष्ट्रेलियाले मन्त्री साउदलाई मायाको चिनो प्रदान गरेको थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयकी सहसचिव रिता धिताल, एनआरएन एआइसीसी सल्लाहकार भैरव ढकाल, वेष्टर्न अष्ट्रेलिया एनआरएनए पर्थका सल्लाहकार कृष्णमान श्रेष्ठ, एनआरएनए पर्थका सचिब किशोर कुँवर, एनआरएनए पर्थका युवा संयोजक मनिश सिग्देल, प्रवासी नेपाली मञ्चका सचिव गोपाल घिमिरे,अग्रज यम केसी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।