अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङले डिसेम्बर महिनालाई मेम्बरसिप महिना घोषणा गर्दै नयाँ सदस्य बन्नका लागि आह्वान गरेको छ ।

फिने हङकङले ‘डिसेम्बर मेम्बरसिप महिना’ अभियान नै चालेर हङकङमा व्यवसाय गरिरहेका व्यवसायीहरुलाई डिसेम्बर महिनाभित्रमा सदस्यता लिनका लागि आग्रह गरेको हो ।

हङकङमा व्यवसाय गरिरहेका नेपाली युवा व्यवसायीहरुले शुरु गरेको फिने हङकङको अभियानमा जोडिनका लागि यसका अध्यक्ष डिके दाहालको आग्रह छ ।

अध्यक्ष दाहाल भन्छन्–‘ फिने हङकङ विदेशमा बस्ने नेपाली युवाहरुको सोच हो, लाइफलाइन हो, यहाँ युवाहरुका लागि धेरै योजनाहरु छन्, बर्षमा एक पटकमात्र सदस्य बन्ने मौका छ, त्यो बेला अहिले आएको छ, हङकङमा रहेका युवा व्यवसायीहरुलाई जोडिनका लागि आग्रह गर्दछु ।’

उनले सबै मिलेर युवाहरुको सोचलाई कार्यान्वयन गर्न र आफै उद्यमशिल बन्न सहकार्य गर्न अनुरोध गरेका छन् ।

२ बर्ष अगाडि स्थापना भएको फिने हङकङले आफ्नो साधारण सभाबाट भर्खरै दाहालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सफलतापुर्वक आफ्नो कार्यकाल सम्पन्न गरेर आकाश बञ्जराले दाहाललाई नेतृत्व सुम्पिएका थिए ।

युवा व्यवसायीहरुको सञ्जालको रुपमा विकास भइरहेको फिनेले नयाँ युवा व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै सहयोग प्रदान गर्ने जनाइएको छ । फिनेले आईडिया र लगानीको बिचमा जोड्ने पुलको काम गर्ने अध्यक्ष दाहालको भनाई छ ।

फिने हङकङको ‘डिसेम्बर मेम्बरसिप महिना’ अभियानः युवालाई उद्यमशिल बनाउने योजना

अध्यक्ष दाहालले युवा उद्यमीलाई आकर्षित गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने जानकारी दिएका छन् । उनका अनुसार एक लाख ६२ हजार डलर संकलन भइसकेको र उक्त पैसा नव उद्यमीहरुका लागि लगानी गर्ने जनाएका छन् । उनले ५ लाख डलरको फण्ड बनाएर धेरैभन्दा धेरै नव उद्यमीहरुका लागि लागानी गर्ने कार्यक्रम रहेको जनाएका छन् ।

अष्ट्रेलियामा व्यवसाय गरिरहेका युवा व्यवसायी स्वतन्त्रप्रताप शाहको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) अहिले विभिन्न देशमा बिस्तार भइरहेको छ ।